राजनीति

कांग्रेससँग तत्काल सम्बन्ध नतोड्ने पुष्पकमल दाहालको संकेत ? एक्कासि यसरी अघि बढ्न थाल्यो राजनीतिक घटनाक्रम !

काठमाण्डौ । मुलुकमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिदै जाँदा तिव्र रुपमा नयाँ–नयाँ राजनीतिक घटनाक्रमहरु देखिदै गएका छन् । करिब एक महिनायता नेपालको राजनीतिक रंगमञ्चमा थुप्रै परिदृष्यहरु देखापरे ।

नेकपा एमाले र माओवादी केन्द्रले दशैं नसकिँदै गरेको वाम गठबन्धनको अभ्यास, त्यसबाट बाबुराम भट्टराईको बहिर्गमन, त्यसलगत्तै प्रधानमन्त्री देउवाद्वारा माओवादी मन्त्रीहरुलाई कटाएर राप्रपालाई सरकारमा भित्र्याउनु, माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेलको गिरफ्तारी लगायत थुप्रै राजनीतिक परिघटनाहरु पछिल्लो नेपाली राजनीतिक रंगमञ्चमा देखिएका परिघटनाहरु हुन् ।

यी राजनीतिक घटनाहरुका बाबजुद पनि आसन्न निर्वाचन हुने कुरामा सबै पक्ष ढुक्क छन् । मंगलबार नेपाली कांग्रेसले आफ्नो पार्टीका नेताहरु सम्मिलित जम्बो निर्वाचन परिचालन समिति निर्माण गरिसकेको छ भने वाम गठबन्धनले आफ्नो संयुक्त चुनावी घोषणापत्र जारी गरेको छ । यी सबै कुराले निर्वाचन हुने कुरामा कुनै शंका रहेन तर यही बीचमा केही प्रश्नहरु भने नेपाली राजनीतिक यात्राको क्रममा अघि आएका छन् ।

के चुनावपछि एमाले र माओवादीबीच हुने भनिएको पार्टी एकता सम्भव छ ? शान्ति प्रक्रियामा आएसँगै अस्थिर राजनीतिक यात्राको नेतृत्व गरिरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको व्यवहारमा एमाले नेता केपी ओलीले कत्तिको विश्वास गरिहाल्छन् ? एक महिनायता घटेका आश्चर्यजनक राजनीतिक घटनाक्रमप्रति माओवादी अध्यक्ष दाहाल किन यति धेरै नरम देखिएका छन् ? आफ्नो पार्टीका मन्त्रीहरुलाई विना विभागीय बनाएर ‘डस्बिन’मा फाल्दा समेत प्रचण्डले किन प्रधानमन्त्री शेरबहादुर देउवाप्रति आक्रामक व्यवहार देखाएनन् ? पार्टी केन्द्रको प्रभावशाली नेता बालकृष्ण ढुंगेललाई गिरफ्तार गर्दा समेत दाहाल मौन रहनुको रहस्य के होला ? यी थुप्रै प्रश्नहरु अहिले अघि आएका छन् ।

यसकारण मौन छन् दाहाल !
वास्तवमा एमाले र माओवादीबीच हुने भनिएको पार्टी एकता पनि यिनै प्रश्नहरुको सेरोफेरोमा निर्भर रहने राजनीतिक विश्लेषण गर्न थालिएको छ । घटना वाम तालमेल हुनअघिबाटै सुरु हुन्छ । त्यसबेला दाहाल मंसिरमा हुने निर्वाचनमा कुन जिल्लाबाट चुनाव लड्ने भन्ने कुरामा निकै दोधार थिए । उनी सिराहा, बर्दिया, चितवन वा कुनै जिल्लाको विकल्प रोज्ने प्रतिक्षामा थिए ।

त्यसबेला तत्काल वाम गठबन्धन भैहाल्छ भन्नेमा न त दाहालले सोचिसकेका थिए न त ओलीले नै । त्यसबेला उनले चितवनबाटै चुनाव लड्ने भन्ने कुराचाहि बाहिर फैलाइसकेका थिए तर प्रधानमन्त्री शेरबहादुर देउवाको सल्लाहमा ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवाले चितवनबाट चुनाव लड्ने हो भने कांग्रेसले राम्रो सहयोग गर्छ भनेर प्रचण्डलाई आश्वासन दिएपछि उनी आफु चितवनबाटै चुनाव लड्ने मनस्थितिमा पुगेका थिए । तर पछि एमाले र माओवादीबीच भएको वा तालमेलले उनलाई बर्दिया र सिराहाबाट पनि चुनाव लड्ने मनस्थितिमा नपुर्याएको होइन ।

दुई नम्बर क्षेत्रमा पर्ने सिराहामा आफ्नो २०७० सालको संविधानसभा निर्वाचनको हालत सम्झिदै उनी पछि हटे भने बर्दियामा एमाले उपाध्यक्ष बामदेव गौतमले आफ्नो अडान कायमै राखे ।

गौतम बर्दियाबाट लड्ने निश्चित भएपछि दाहालले चितवनभन्दा बाहेकको विकल्प देखेनन् । यसअघिका चुनावमा काठमाण्डौ १० बाट समेत हालत पत्ला भएका दाहालले दशैंअघिनै भएको प्रधानमन्त्री देउवा र आफ्नो सहमतिको क्षेत्र रोजे तर वाम तालमेलको आधारमा चुनाव जित्ने सपना बोकेर ।

चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ उम्मेद्वार बनेका दाहालसँग राप्रपाका विक्रम पाण्डेले प्रतिस्पर्धा गर्दैछन्,त्यो पनि कांग्रेसको समर्थनमा । पाण्डेले प्रचण्डलाई जसरी पनि हराउने योजनाका साथ आफुहरु अघि बढिरहेको दाबी गर्दै आइरहेका छन् ।

एमाले–माओवादीबीच वाम तालमेल भएपनि मुलुकभरका स्थानीय नेता,कार्यकर्ता र जनताले यी दुई पार्टीबीच एकअर्कामा विश्वास गरिहाल्लान् भन्ने विश्वास देखिदैन । त्यसमा पनि चितवनमा स्थानीय चुनावमा घटेको घटना, द्धन्द्धकालमा घटेको माडी घटना लगायतका कारणहरुले माओवादीको मत घट्ने निश्चित छ । सो क्षेत्रमा कांग्रेसको पनि राम्रो जनाआधार देखिन्छ ।

त्यसैले प्रधानमन्त्री देउवासँग दाहालले त्यसबेलानै आफुलाई चितवनबाट जिताउन लाग्नुपर्यो भन्ने प्रस्ताव राखेको श्रोतको दाबी छ । सम्भवतः प्रचण्ड पछिल्ला दिन देउवा नेतृत्वको सरकारप्रति धेरै आक्रामक नहुनाको कारण यो हुन सक्ने विश्लेषण गर्न थालिएको छ । एमाले अध्यक्ष ओली धेरै आक्रामक देखिए पनि दाहालले चुनावपछिको परिस्थितिलाई पनि आंकलन गरिरहेको बताइन्छ ।

कांग्रेसले दियो प्रचण्डलाई शुभ संकेत !
दोश्रो, मंसिर १० र २१ गते हुने चुनावपछि एमाले र माओवादीले आंकलन गरेअनुसार मत नआए प्रचण्डले वाम गठबन्धनबाट हात झिक्ने निश्चित जस्तै छ । विद्रोहको पृष्ठभूमिबाट आएको प्रचण्डका पछिल्ला वर्षका राजनीतिक रणनीतिहरु हेर्दा उनी कहिले कसलाई उपयोग गरिरहेका छन् भने कहिले कसलाई उपयोग गरिरहेका छन् ।

पछिल्ला ३ वर्षयताका सरकार परिवर्तनका घटनाक्रमले पनि यो कुराको पुष्टि हुन्छ । त्यसैले एमाले–माओवादीबीचको सम्बन्ध मतका आधारमा निर्भर हुन्छ, सम्भवतः देशभरका एमाले कार्यकर्ताहरुले सिंगै माओवादी केन्द्रको अस्तित्व जोगाउन मत हाल्छन् भन्ने विश्वास घट्दै गएको छ । मुलुकका सबै जिल्लाहरुको स्थलगत रिपोर्ट बुझ्दा एमाले र माओवादी दुवैतर्फका कार्यकर्ताहरु अहिले अकर्मण्यतामा फसेका छन् । धेरै मतपत्रहरु रद्ध हुने र खाली छाडिने सम्भावनाहरु बढेर गएको छ । यसले वाम गठबन्धन बीचमै तुहिने निश्चित जस्तै छ ।
यही राजनीतिक अवस्थालाई मूल्यांकन गर्दै नेपाली कांग्रेसले एउटा बल्छी चुनावअघिनै फालिसकेको छ । त्यो हो चुनावलगत्तै प्रचण्डलाई केही वर्षका लागि आफ्नो समर्थनमा प्रधानमन्त्री बनाउने । यो कुराको रहस्य कांग्रेसका देउवा निकट नेताहरु डा.नारायण खड्का र विजयकुमार गच्छदारले खोलिसकेका छन् ।

डा.खड्काले पछिल्ला दिन विभिन्न सञ्चारमाध्यामहरुलाई अन्तरवार्ता दिँदै कांग्रेस, माओवादी र अन्य केही दलहरुको एलायन्समा चुनावपछि सरकार बन्दैछ भन्ने अभिव्यक्ति दिइसकेका छन् । त्यस्तै, नेता गच्छदारले पनि वाम गठबन्धनलाई जसरी पनि भत्काउने तयारीमा आफु र आफ्नो पार्टी लागिरहेको दाबी गरेका छन् ।

यसबाट पनि के पुष्टि हुन्छ भने गज्जबको अवसर दिने हो भने माओवादी अध्यक्ष दाहालले बाटो परिवर्तन गर्न सक्छन् । उनको पछिल्लो मौनता पनि यसैमा जोडिएको छ । त्यसकारण वाम तालमेलको भविष्य निकै कमजोर पृष्भूमिमा उभिएको राजनीतिक विश्लेषकहरुले बताउन थालेका छन् ।

यसकारण वाम तालमेलको भविष्य अन्योलमा छ !
मंगलबार सार्वजनिक गरिएको संयुक्त घोषणापत्रमा एमाले र माओवादीले दुईवटा महत्वपूर्ण मुद्धानै छुटाएका छन् । मुलुकको शासकीय स्वरुप र राष्ट्रियताको मुद्धामा समेत उनीहरु चुकेको देखिन्छ । यसअघि कार्यकारी राष्ट्रपतिको वकालत गर्दै आएका ती पार्टीले अहिले भने त्यो विषयमा मौनता साँधेका छन् ।

दुई पार्टीबीचका नेतामध्ये को प्रधानमन्त्री हुने भन्ने विषयमा समेत उनीहरुले स्पष्ट कुरा बाहिर ल्याएका छैनन् । श्रोतका अनुसार यी विषयमा एमाले र माओवादी नेताहरु आ–आफ्नै दाउपेचमा रहेका छन्,जसले यो चुनावलाई उपयोग गर्ने रणनीति मात्र अख्तियार गरिरहेका छन् ।

राष्ट्रियताको सवालमा यसअघि भारतविरुद्ध कठोर रुपमा प्रस्तुत हुँदै आएको एमाले अध्यक्ष केपी ओलीले अहिले नरम रुपमा प्रस्तुत भएको संकेत त दिएका छन् तर भारतको इच्छा विपरित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको विषयमा कुरा उठाएका छन्, जबकि भारतले पछिल्ला वर्ष सार्कलाई भन्दा विमस्टेकलाई विशेष महत्व दिइरहेको छ ।

भारतको आलोचना पछि पाकिस्तानको राजधानी इस्लामावादमा हुने भनिएको सो संस्थाको सम्मेलननै स्थगित भएको छ । यसले पनि वाम गठबन्धनको उद्धेश्य कतातिर लक्षित छ भन्ने कुरा देखिएको छ, जसले छिमेकी भारतलाई चिढ्याउने निश्चित । ‘भारत चिढिनु भनेको नेपालको राजनीतिक शक्ति समिकरणमा समेत प्रभाव पर्नु हो,’ एक राजनीतिक विश्लेषक बताउँछन् ।