खेलकुद

यसरी गरिदैछ नयाँ विश्व लिग फुटबल प्रतियोगिताको तयारी

एजेन्सी ।  विश्व फुटबलको प्रशासकीय निकाय फिफा र युरोपियन फुटबलको प्रशासकीय निकयाले युइएफएले नयाँ विश्व लिग फुटबल सुरु गर्ने विषयमा छलफल गरेका छन् । अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलहरुलाई प्रस्तिथापित गर्ने गरी फुटबलमा नयाँ विश्व लिग ल्याउने सम्भावना बारे दुई संस्थाबिच छलफल भएको हो ।

युइएफएले आउँदो सेप्टेम्बरदेखि सदस्य ५५ राष्ट्रबिच नयाँ नेशन्स लिग खेलाउने तयारी गरिरहेको छ । यो प्रतियोगिताका कारण फिफाको क्यालेन्डरमा रहेका अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल प्रभावित हुनेछन् ।

यो समस्यालाई नयाँ विश्व लिगको स्थापना गरेर वा नेशन्स लिगलाई विश्वव्यापी बनाएर समाधान गर्न सकिने सम्भावनाका बारेमा छलफल भएको हो । युइएफएले आउँदो वर्षको सेप्टेम्बरमा गर्न लागेको नेशन्स कपमा सहभागी ५५ देशमध्ये शीर्ष चारमा रहने टिमले सन् २०२० को युरोकपमा स्थान बनाउने छन् ।

यसलाई युरोकपको छनौटको रुपमा पनि लिइएको छ । फिफा र युइएफएबिच नेशन्स लिगलाई विश्व लिग बनाउने र यो प्रतियोगिता बिजोर वर्षमा गर्न सकिने विषयमा छलफल भएको हो । तर अहिले नै यो विषयमा कुनै निर्णय भने भएको छैन ।