कृषि

देशभर मलको अभाव, कृषक मारमा

काठमाण्डौ । कृषि सामग्री कम्पनीले नियतवश खरिद प्रक्रिया लम्ब्याएपछि मलको चर्को अभाव भएको छ । कम्पनीले मल खरिद गर्न आफैंले बनाएको वार्षिक कार्ययोजनाविपरीत देशभर मल अभाव गराएको हो । गतवर्ष खरिद गरेको मलसमेत भित्याउन नसक्दा गहुँबाली लगाउने समयमा देशभर मलको चर्को अभाव भएको छ।

कम्पनीले चालू आर्थिक वर्षको स्वीकृत कार्ययोजनाअनुसार पहिलो चौमासिक (साउन-कात्तिक) को माग धान्न एक लाख १२ हजार दुई सय टन (२२ लाख ४४ हजार बोरा) कम परिमाणमा रासायनिक मल खरिद गरी भित्याएको छ ।

यो बेलाको माग धान्न युरिया मल कम्तीमा ३० हजार टन (६ लाख बोरा) आवश्यक पर्छ । यस्तै डीएपी १० हजार टन (एक लाख बोरा) आवश्यक छ।

निर्धारित कोटाभन्दा कम परिमाणमा मल खरिद गरी आपूर्ति भएकाले अहिले किसान गहुँ, तोरी, मुसुरोलगायत बाली लगाउनका लागि मलको चरम अभाव बेहोर्न बाध्य छन् ।

बुधबारको अन्नपुर्ण पोष्टले लेखेको छ,कम्पनीले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा युरियातर्फ ७० हजार टन (२१ लाख बोरा) र डीएपीतर्फ ५० हजार टन (१० लाख बोरा) खरिद गर्ने कार्ययोजना बनाएको थियो ।

कार्ययोजनाअनुसार ७० हजार टन युरियामध्ये हालसम्म दुई हजार पाँच सय टन (पाँच हजार बोरा) र ५० हजार टन डीएपीमध्ये पाँच हजार तीन सय टन (१० हजार ६ सय) मात्रै भित्याइएको कम्पनीले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।