पु.समाचार

यसरी हुँदैछ गगन थापा र राजन भट्टराईबीच टक्कर

काठमाडौं । पहेँलपुर माला, खादा र अबिर हेर्दा लाग्छ, जितहारै छिनोफानो भइसक्यो, तर कांग्रेस नेता गगन थापाको अनुहारमा झल्किने मानसिक दबाबले त्यसो भन्दैन । वाम गठबन्धनबाट अघि सारिएका रैथाने एमाले नेता राजन भट्टराई उनीसँग भिड्न तयार छन् । आ-आफ्ना दलभित्र भविष्य ठानिएका दुई युवाको भिडन्तले काठमाडौं-४ को चुनावी माहोल खास बन्दै छ ।

‘गगनको क्षेत्रमा राजन भिड्दै’, केही साताअघि एउटा अनलाइनको समाचार लिंक फेसबुकमा सेयर गरेर भट्टराई आफैंले ‘ब्यालेट वार’ सुरु भएको घोषणा गरेका थिए । सायद यही बुझेर हुनुपर्छ, कार्यकर्ताको चुस्त व्यवस्थापनमा माहिर मानिने थापाले अघिल्लो चुनावभन्दा यसपल्ट प्रचार रणनीति अझै आक्रामक बनाएका छन् ।

मंगलबार सिफल चउरका मतदातासामु हात जोड्दै गर्दा उनले त्यसको प्रस्टै छनक दिए । ‘चुनावमा अरू पनि छन्, तर हामी (कांग्रेस र एमाले) यहाँ करिब दुईवटा पार्टीजस्तै देखिएका छौं’, थापाले भने, ‘तर मेरो जित निश्चित छ, पहिले पनि कांग्रेसभन्दा बाहिरका मतदाताको स्नेहले मैले जितेको हुँ । त्यसलाई कायमै राख्ने मेरो कोसिस हुनेछ ।’

बुधबारको अन्नपूर्ण पोष्टमा लेखिएको छ, थापाले एक चरण सभा र घरदैलो भ्याइसक्दा भट्टराई अझै वाम गठबन्धनका आन्तरिक भेट र भेलामै सीमित छन् । माओवादीलगायत वामपन्थीको गठजोडले उनमा आत्मविश्वास बढेको देखिएको छ । थापाले भट्टराईको व्यक्तित्वभन्दा एमालेको राजनीतिक प्रभाव बढ्ता हाबी हुन सक्ने आकलनसहित त्यसको खण्डन गर्दै थिए ।

‘पञ्चायतको चुनाव भएको भए पो व्यक्तिका प्रभावलाई प्राथमिक मान्न सकिन्थ्यो, बहुदलीय व्यवस्थामा जनताले पार्टी निर्णयको प्रभावकारिता र प्रस्टता हेर्छन्’, भट्टराईले भने, ‘यतिउति भोट भन्दिनँ तर सुविधाजनक अन्तरले जित्छु ।’ उनले राजनीतिक अस्थिरताले प्रजातन्त्रका ३० वर्ष खेर गएको भन्दै अब वामपन्थी गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने अपिल गरे ।

विद्यार्थी राजनीतिको जगमा उदाएका थापा र भट्टराई दुवैलाई राष्ट्रिय चर्चामा ल्याउने संयोग एउटै थियो, २०५९ मा राजा ज्ञानेन्द्रको शाही प्रतिगमन । थापा नेविसंघ महामन्त्री थिए, भट्टराई अनेरास्ववियु विदेश विभाग प्रमुख । त्यसबीच थापा मूलधारको कांग्रेस राजनीतिमा छिटोछिटो उक्लिए । गणतन्त्रको स्वर मुखर गर्दा राजद्रोह र पार्टी कारबाही भोगेका थापाले त्यसैकारण राष्ट्रिय चर्चा पाए ।

पछिल्लो कांग्रेस महाधिवेशनमा बीपी कोइरालापुत्र शशांकविरुद्ध महामन्त्रीमा उल्लेख्य भोट पाउनुले उनीप्रतिको कार्यकर्ता लगाव पुष्टि हुन्छ । १८ औं कांग्रेस महाधिवेशनमा सर्वाधिक भोट पाउने थापाले दोस्रो संविधानसभा चुनावमा एमाले उम्मेदवार निर्मल कुइँकेललाई १३ हजार र हालका उपराष्ट्रपति नन्दकिशोर पुनलाई १६ हजार मतान्तरले हराएको खबर चर्चामा रह्यो ।

थापाजति आमचर्चा नबटुले पनि भट्टराईको ट्र्याक रेकर्ड कमजोर छैन । जवाहरलाल नेहरु विश्वविद्यालय, नयाँदिल्लीबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पीएचडी उनी एमालेका महत्वपूर्ण नीति निर्माणमा पछिल्ला दिनहरूमा नछुटाइने नाम हुन् । माधव नेपाल सरकारमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार उनी हाल सन् १९५० को नेपाल-भारत सन्धि पुनरवलोकन गर्न गठित उच्चस्तरीय विज्ञ टोलीका सदस्य पनि छन् ।

थापासँग यसअघि लड्ने एमाले र माओवादी प्रतिस्पर्धीका तुलनामा उनी बलियो सार्वजनिक छवि बनाएका प्रतिस्पर्धी हुन् । पछिल्ला वर्षहरूमा उठेका राष्ट्रिय मुद्दामा एमाले नेतृत्वले लिएको अडान, अनि भर्खरैको काठमाडौं महानगर चुनावमा एमालेका पक्षमा देखिएको जनमत भट्टराईका लागि सहज बन्न पुगेको छ ।

०७० को चुनावलाई आधार मान्ने हो भने एमाले र माओवादी दुवैको मत जोड्दा पनि थापाजति पुग्दैन तर वैशाखको स्थानीय चुनाव नतिजा हेर्दा काठमाडौं-४ मा पर्ने अधिकांश वडामा कांग्रेसभन्दा एमाले उम्मेदवारले जितेका छन् । काठमाडौं महानगरका चार तथा बूढानीलकण्ठ नगरपालिकाअन्तर्गतका आठ वडा काठमाडौं ४ मा पर्छन् । संविधान निर्माणयता राष्ट्रिय राजनीतिमा निरन्तर एमाले पकड चिर्न थापालाई सहज हुने छैन।

उनी आफैं सकार्छन्, ‘राष्ट्रिय राजनीतिक मुद्दामा मेरो पार्टीले लिएका कतिपय नीतिनिर्णयबारे जनतामा असन्तुष्टि छ भन्ने म स्विकार्छु, मलाई आजैको घरदैलोमा पनि यो कुरा दर्जनौंले भनिसक्नुभयो ।’ यसर्थ थापासँग दलभन्दा व्यक्तित्वको ओज चुनावी जितको मुख्य अस्त्र बन्न जाने पक्का छ ।

भट्टराईले पनि थापाको यही कमजोरीलाई समाएर प्रचारमा जाने रणनीति बनाएका छन् । त्यसलाई चिर्न थापाले आफू पुष्पकमल दाहाल मन्त्रिपरिषद्मा स्वास्थ्यमन्त्री छँदा लिएका विपन्न र गरिबलाई छुने सार्वजनिक स्वास्थ्य नीतिलाई चुनावी प्रचारमा लगिरहेका छन् । उनले सार्वजनिक शिक्षा र स्वास्थ्यको पक्षमा आफ्नो प्रतिबद्धता नछुटाई भन्ने गरेका छन् ।

राजधानी सहरमा जबर्जस्त छाप छाड्दै गरेको विवेकशील साझा पार्टीलाई दुवै उम्मेदवारले कम आँकेका छैनन् । अन्य दलका पनि उम्मेदवार मैदानमा उभिएका छन् । थापा र भट्टराई दुवैलाई आफ्नो ‘प्रधान शत्रु’ भने राम्रैसँग थाहा छ ।

भट्टराईका शब्दमा थापा ‘चुनौतीपूर्ण प्रतिस्पर्धी’ हुन् । तैपनि, उनी जनताबीच गएर सोध्ने पक्षमा छन्, ‘८ वर्ष सांसद भएर थापाजीले यो क्षेत्रका लागि के गर्नुभयो ? ’ थापा पनि के कम । अस्तिदेखि घरदैलोमा सोध्न थालिसके, ‘अस्ति पनि सांसद हुनुहुँदोरहेछ, भट्टराईजी । यो क्षेत्रका जनतालाई किन थाहा भएन, उहाँ पनि यो क्षेत्रकै सांसद हुनुहुन्छ भनेर ? ’

दोस्रो संविधानसभामा विज्ञहरूका लागि छुट्याइएको २६ सिटमध्ये एकमा लगिएका भट्टराई प्रत्यक्ष निर्वाचित थापाले विकास योजनामा सल्लाह, परामर्श नगरी एकलौटी गरेको आरोप लगाउँछन् ।

उनी भन्छन्, ‘३ करोड रुपैयाँको सांसद विकास कोषमा आफू अनुकूलका योजना लैजानुभयो, जनताले आफ्नो जीवनसँग जोडिनेगरी परिवर्तनको अनुभूति १० वर्षयता गर्न पाएका छैनन् ।’ थापा भने निर्वाचन क्षेत्रको बजेटबारे कुनै विवाद नभएको क्षेत्र आफ्नो मात्रै भएको दाबी गर्छन् । ‘राजनजी विद्वान् नेता हुनुहुन्छ, उहाँसँग शिक्षा, स्वास्थ्यजस्ता राष्ट्रिय मुद्दामा बहस गर्न पाए हुन्थ्यो तर उहाँले मलाई वडाध्यक्षको तहमा ल्याइदिनुभयो’, गगन आरोप लगाउँछन्, ‘राजनजी एमालेभित्रको राम्रै युवा नेता हो तर आफू चार वर्ष सांसद भइसकेको यथार्थलाई बिर्सेर नयाँ मानिस मैदानमा आएझैं गरेर प्रस्तुत गर्नुभयो ।’

थापाका पुराना टाउको दुखाइ सकिएका छन्, नयाँ सुरु भएका छन् । दोस्रो संविधानसभा चुनावमा यसै क्षेत्रबाट लड्दै गर्दा उनलाई सुप्रभा घिमिरे बागी उठेकी थिइन् भने आफ्नै उपल्लो तहका नेताहरूले असहयोगी व्यवहार देखाएका थिए । त्यो झन्झटबाट उनी मुक्त भए पनि यसबीचमा विवेकशील साझा पार्टी जोडतोडसाथ सतहमा आएको छ ।

वैशाखको स्थानीय चुनावमा काठमाडौं महानगरमा एमालेले ६४ हजार, कांग्रेसले ४५ हजार मत पाउँदा विवेकशीलले पाएको २३ हजार र साझा पार्टीले पाएको १८ हजार मत उल्लेख्य थियो । हाल ती दुई पार्टीको एकता भइसकेको छ ।

थापा आफैं स्विकार्छन्, ‘विवेकशील साझाले अपिल गर्ने वर्ग र मैले अपिल गर्ने वर्ग एउटै हो, त्यसैले उहाँहरूले पाउन सक्ने मतलाई कम आँक्दिनँ ।’ बरु उनी वाम गठबन्धनको बाहिर हल्ला भएजति प्रभाव नहुने, बरु उल्टै माओवादी तप्काले आफूलाई भोट हाल्ने दाबी गर्छन् । थापा थप्छन्, ‘किनकि विगतमा मैले उठाएका गणतन्त्र, संघीयता, समानुपातिक प्रतिनिधित्वजस्ता मुद्दा उहाँहरूको आन्दोलनसँग जोडिन्छन् ।’