पु.समाचार

वाम गठबन्धनले जारी गर्यो संयुक्त चुनावी घोषणापत्र

काठमाडौं। बाम गठबन्धनले प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ। नेकपा एमाले र माओवादी केन्द्र सम्मलित गठबन्धनले मंगलबार घोषणापत्र सार्वजनिक गरेको हो।

एमाले अध्यक्ष केपी शर्मा ओली एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले कोटेश्वरस्थित रोयल ब्याङ्केटमा घोषणा पत्र सार्वजनिक गरे।

वाम गठबन्धनले १० वर्षभित्र प्रतिव्यक्ति आय पाँच लाख रुपैयाँ पुर्‍याउने गरी राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने महत्वाकांक्षी योजनासहित आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनाव लक्षित घोषणापत्र जारी गरेको छ। हाल नेपालीको प्रतिव्यक्ति आय वार्षिक ८० हजार रुपैयाँ हाराहारी छ।

बुधबारको नागरिकमा लेखिएको छ, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ का लागि तयार पारिएको वाम गठबन्धनको घोषणापत्रले दशकभित्र २० हजार मेगावाट विद्युत् उत्पादन गर्दै मुलुकलाई यही शताब्दीमा समुन्नत राष्ट्र बनाउने घोषणा गरेको छ।

गठबन्धनले पाँच वर्षभित्रमा खाद्यान्न निर्यात गर्ने महत्वाकांक्षी योजना पनि अघि सारेको छ। हाल मुलुकको वैदेशिक व्यापारको अवस्था भने निराशाजनक छ। गत आर्थिक वर्षमा नेपालको व्यापार घाटा नौ खर्ब नौ अर्ब ३५ करोड ५१ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षमा नौ खर्ब ८४ अर्ब ६ करोड ७८ लाख रुपैयाँको आयात हुँदा निर्यात जम्मा ७४ अर्ब ७१ करोड २६ लाख रुपैयाँ थियो