राजनीति

भूकम्पबाट भत्केका घर बनाइदिनेलाई मत

सिन्धुपाल्चोक । बतासे–२ की ७८ वर्षीया मनकुमारी विक बेसहारा छिन् । परिवारको साथ त थिएन नै प्रकृतिले पनि ठग्यो ।

विसं २०७२ को गोरखा भूकम्पले सम्पत्तिको नाउँमा रहेको एउटा छाप्रो घर पनि ध्वस्त बनाइदियो । तर, अझै आश मरेको छैन । घर ठडिने सपना बोकेकी छिन् । त्यसैले घर बनाउन सहारा दिने उम्मेदवारलाई मत दिने योजना छ ।

“घर बनाइदिए हुने थियो, बरु खाना मागेर पनि खाने थिएँ, चार पैसा छैन, भएको खेतीबाट जेनतेन छ महिना खान पुग्छ, बाँकी गाउँमै सामान्य काम गरेर खान्छु”, उनले भनिन् ।

भूकम्पबाट सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकका मतदातालाई विकासभन्दा पनि पहिला भत्केका घर बनाइदिने उम्मेदवारलाई जिताउने मनसाय छ ।

नौबिसे–२ का ८१ वर्षीय भरतराज भण्डारी गाउँमा राम्रो विकास गर्नेलाई मतदान दिने बताउँछन् । काँग्रेसका पुराना मतदाता रहेका भण्डारी यसपटक मत कसलाई दिने भन्ने अन्योलमा छन् । उनी भन्छन्, “जित्ने उम्मेदवारबाट ज्येष्ठ नागरिकलाई भत्ता बढाइदिने र रोगब्याधीको औषधि उपचार गर्नेलाई मत दिन्छु ।”

बतासे–२ देवीडाँडाका मानबहादुर विक राम्रो उम्मेदवारले जितेमा गाउँमा विकास छाउने अभिलाषामा छन् । यता जलवीरे–२ का बाबुराम सापकोटाको अरुको भन्दा फरक मत छ । हिन्दू धर्मको संरक्षण गर्ने दलले जिते हुनेथियो भन्ने उनको आशा छ ।

जुगल गाउँपालिका बराम्चे–५ ढाँडेमा नेपाली काँग्रेस चुनाव प्रचारप्रसार समितिले आइतबार आयोजना गरेको चुनावी सभामा भेटिएका माथिका प्रतिनिधि जस्तै धेरैको मत विकासप्रेमी उम्मेदवारलाई दिने योजना छ ।

नेपाली काँग्रेसका स्थानीय नेता रेशम गिरी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता माङ्माया स्याङ्बोले जसले जिते पनि पहिला भूकम्पबाट भत्किएका घर निर्माण तथा जिल्लाको सडक, खानेपानी र जडीबुटीको व्यवस्थापनसँगै पर्यटन प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्ने बताए ।

चुनावी सभालाई सम्बोधन गर्दै सूचना तथा सञ्चारमन्त्री बस्नेतले लोकतन्त्रको संरक्षण गरी विकासलाई तीव्रता दिन लोकतन्त्रवादी शक्तिलाई विजयी गराउन मतदातालाई आग्रह गरे ।

प्रतिनिधि सभाको क्षेत्र नं १ मा नेपाली काँग्रसका तर्फबाट उम्मेदवार बनेका मन्त्री बस्नेतले ठूला सपना बाँड्नुभन्दा पनि जनताका आधारभूत आवश्यकता, सडक, खानेपानी, विद्यालय, स्वास्थ्य चौकी आदिको निर्माणलाई निश्चित समयभित्र सक्नेगरी योजना ल्याइने बताए ।

मन्त्री बस्नेतले जिल्लाका सबै गाउँमा मोटरबाटो, सूचना र प्रविधिको पहुँच विस्तार गर्ने तत्कालीन योजना पनि सुनाए ।

“हामी भोट माग्न त्यसै आएका छैनौँ । भूकम्पबाट कुन बस्ती जोखिममा छ, कहाँ स्थानान्तरण गरी बस्ती विकास गर्नुपर्छ, त्यसको योजनाबद्ध कार्यक्रम ल्याएर गाउँमै रोजगारी सिर्जना गर्छौं”, उनले भने ।

दुईवटा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका लागि क्षेत्र नं १ मा सञ्चारमन्त्री एवं नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेत र क्षेत्र नं २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबरा उम्मेदवार बनेका छन् ।

प्रदेश सभाअन्तर्गत क्षेत्र नं १ को (क) मा विष्णु खत्री र (ख) मा राजेन्द्र श्रेष्ठ तथा क्षेत्र नं २ को (क) मा विकास लामा र (ख) निमा लामा उम्मेदवार उठेका छन् ।

त्यस्तै, वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा क्षेत्र नं १ बाट पूर्व सञ्चार मन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता अग्निप्रसाद सापकोटा र क्षेत्र नं २ मा नेकपा (एमाले) का नेता शेरबहादुर तामाङ चुनावी प्रतिस्पर्धामा छन् । प्रदेश सभातर्फ क्षेत्र नं १ (क) मा एमालेको तर्फबाट अरुण नेपाल र (ख) मा सरेश नेपाल उम्मेदवार बनेका छन् ।

त्यसैगरी, क्षेत्र नं २ (क) मा माओवादी केन्द्रको तर्फबाट युवराज दुलाल र (ख) मा पूर्व सांसद दावा तामाङको उम्मेदवारी परेको छ ।

तीनवटा नगरपालिका र नौवटा गाउँपालिका रहेको सिन्धुपाल्चोकमा करिब सवा दुईलाख मतदाता रहेका छन् । यहाँको कूल जनसंख्या तीन लाखभन्दा बढी छ । यसपटक क्षेत्र नं १ मा हालका सञ्चारमन्त्री र पूर्व सञ्चारमन्त्रीबीचको चुनावी प्रतिस्पर्धा निकै रोचक देखिएको छ ।