राजनीति

कहाँ–कहाँ घोषणा हुँदैछन् प्रदेश राजधानी ? यस्तो छ नेताहरुको तयारी !

काठमाण्डौ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनको माहोलमा सबै राजनीतिक दलका नेता,कार्यकर्ता र जनताहरु होमिइसकेका छन् । राजनीतिक दलका उम्मेद्वारहरु जनताको घरदैलोमा विभिन्न राजनीतिक, आर्थिक, सामाजिक,राजनीतिक लगायतका एजेण्डाहरुले लिएर पुगिरहेका छन् । राजनीतिक दलका उम्मेद्वारहरु विशेषगरी ठुला दलका प्रभावशाली नेताहरुले भने मुलुकका सातवटै प्रदेशका राजधानी तोक्नेदेखि अन्य विकासका एजेण्डालाई समेत जनताबीचमा पुर्याइरहेका छन् ।

प्रदेश नम्बर एक
प्रदेश नम्बर १ देखि ७ सम्मै ठुला दलका नेताहरुको प्रभाव धेरै देखिन्छ । एक नम्बर प्रदेशमा एमाले अध्यक्ष केपी ओलीदेखि कांग्रेसका शीर्ष नेताहरु शेखर कोइराला, कृष्ण सिटौला, एमाले नेता योगेश भट्टराई, कांग्रेसका रामहरि खतिवडा,माओवादी केन्द्रका नेता राम कार्की लगायतका नेताहरु चुनाव लडिरहेका छन् । उनीहरुले एक नम्बर प्रदेशलाई कसरी अघि बढाउने र त्यसको राजधानी कहाँ स्थापना गर्ने ? भन्ने समेतको नारालाई अहिले महत्व दिइरहेका छन् ।

एक नम्बर प्रदेशको राजधानी निर्माण गर्ने सवालमा कांग्रेस नेता कोइरालाले विराटनगरलाइ महत्व दिइरहेका छन् भने केही नेताहरुले इटहरी, धरान र धनकुटालाई प्रदेशको राजधानी बनाउनुपर्नेमा जोड दिएका छन् । धनकुटाका प्रभावशाली नेता सुनिल थापाले धनकुटालाई प्रदेशको राजधानी बनाउने कुरामा जोड दिइरहेका छन् ।

त्यस्तै, कांग्रेस नेता कोइरालाले मोरङ जिल्ला र विराटनगर महानगरपालिका र त्यसको विकासका लागि थुप्रै एजेण्डाहरु अघि सारेका छन् । उनले पूर्वाञ्चले विश्वविद्यालयमा एउटा मेडिकल कलेज स्थापना गर्नेदेखि कोशी अञ्चल अस्पताललाई सुविधा सम्पन्न बनाउने सम्मको घोषणा गरेका छन् ।

उनले संविधान संशोनमार्फत मधेसी, जनजाति, थारु, मुस्लिम एवम् पिछडा वर्गको भावनालाई पूर्ण कदर गर्दै संविधानलाई सर्वस्वीकार्य बनाउनका लागि पहल गरिने समेत प्रतिबद्धता जनाएका छन् । उनले आफ्नो जिल्लामा एक घर एक रोजगारी उपलव्ध गराउनेदेखि पाँच वषभित्र सम्मानजनक जीवनयापन गर्न सक्ने सम्मका अभियानहरुको सुरुवात गर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै,एक नम्बर प्रदेशमा उम्मेद्वार रहेका एमाले अध्यक्ष ओलीदेखि माओवादी केन्द्रका उम्मेद्वारहरुले पनि आफ्नो निर्वाचन क्षेत्रदेखि सिंगो एक नम्बर प्रदेशलाई विकास र समृद्धिको दिशामा डोर्याउने प्रतिबद्धता जनाएका छन् । यद्यपि, ओलीले भने बढी वाम गठबन्धनको पक्षमा राजनीतिक भाषण दिँदै लोकतान्त्रिक गठबन्धनको विरोध गर्दै आएका छन् ।

दुई नम्बर प्रदेश
त्यस्तै, दुई नम्बर प्रदेशमा पनि ठुला पार्टीका शीर्ष नेताहरुले सिंगो प्रदेशलाई समृद्ध बनाउनेदेखि आफ्नो निर्वाचन क्षेत्रका प्रत्येक वडाको विकासमा ध्यान दिने आश्वासन दिँदै आएका छन् । यो प्रदेशमा नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधि,संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर,राजेन्द्र महतो, कांग्रेस नेता महेन्द्र यादव लगायतका नेताहरु दुई नम्बर प्रदेशका जिल्लाहरुमा उम्मेद्वार बनेका छन् ।

उनीहरुले पनि समृद्ध प्रदेश र जिल्लाको नारालाई अघि सारिरहेका छन् । कांग्रेस नेता एवम् खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले जनकपुरलाई दुई नम्बर प्रदेशको राजधानी बनाएर जानुपर्ने आफ्नो मुद्धा रहेको बताए । उनले जनकपुरमा मेडिकल कलेज स्थापना गर्ने, कृषिलाई आधुनिकीकरण गर्ने, औद्योगिकीकरण गर्ने लगायतका एजेण्डा लिएर जनतामाझ जान लागेको बताए । त्यस्तै बारा, पर्सा, रौतहटबाट उठेका सबै दलका नेताहरुले आ–आफ्ना विकास र समृद्धिका एजेण्डा लिएर जनतामाझ गैरहेका छन् । विशेषगरी यो पटकको निर्वाचनमा प्रदेशको राजधानी कहाँ स्थापना गर्ने भन्ने विषयमा नै उम्मेद्वारहरु केन्द्रीत भएका देखिन्छन् ।

तीन नम्बर प्रदेश
त्यस्तै, तीन नम्बर प्रदेशमा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डदेखि राजधानी काठमाण्डौका अधिकांश क्षेत्रहरुमा कांग्रेस, एमालेका प्रभावशाली नेताहरुले चुनाव लडिरहेका छन् । काठमाण्डौको क्षेत्र नम्बर १ मा कांग्रेसका प्रभावशाली नेता प्रकाशमानसिंह, क्षेत्र नम्बर २ मा एमालेका बरिष्ठ नेता माधव नेपाल, काठमाण्डौ क्षेत्र नम्बर ३ मा कांग्रेसकी अम्बिका बस्नेत, क्षेत्र नम्बर ४ मा कांग्रेसका प्रभावशाली युवा नेता गगन थापा, एमालेका राजन भट्टराई, क्षेत्र नम्बर ५ मा कांग्रेसका डा.प्रकाशशरण महत र एमाले महासचिव ईश्वर पोख्रेल लड्दैछन् ।

क्षेत्र नम्बर ६ रक्षामन्त्री समेत रहेका कांग्रेस नेता भीमसेनदास प्रधान, क्षेत्र नम्बर ८ मा कांग्रेसका नविन्द्रराज जोशी, क्षेत्र नम्बर १० खेलकुदमन्त्री समेत रहेका राजन केसी र माओवादी नेता हितमान शाक्य चुनाव लड्दैछन् । यी सबै नेताहरुले आ–आफ्नो एजेण्डा लिएर जनताबीच प्रस्तुत भैरहेका छन् । त्यस्तै प्रदेश नम्बर ३ मै सिन्धुपाल्चोक, नुवाकोट,धादिङ,मकवानपुर,सिन्धुली लगायतका जिल्लामा पनि प्रभावशाली नेताहरु चुनाव लड्दैछन् ।

सिन्धुपाल्चोकमा कांग्रेसका मोहनबहादुर बस्नेत, माओवादी केन्द्रका अग्नि सापकोटा, राप्रपा प्रजातान्त्रिकका पशुपतिशम्शेर राणा, नुवाकोटमा कांग्रेसका नेताहरु डा.रामशरण महत, अर्जुननरसिंह केसी, धादिङमा एमाले नेता राजेन्द्र पाण्डे, मकवानपुरबाट राप्रपाका अध्यक्ष कमल थापा लगायतका नेताहरु चुनाव लडिरहेका छन् । सबैले ३ नम्बरको प्रदेशको राजधानी स्थापना गर्ने सवालदेखि आर्थिक समृद्धिका नाराहरु लिएर जनतामा गएका छन् । ३ नम्बर प्रदेशको राजधानी स्थापना गर्ने सवालमा कसैले धुलिखेल त कसैले हेटांैडालाई बनाउनुपर्ने विषय उठाएका छन् ।

चार नम्बर प्रदेश
त्यस्तै, ४ नम्बर प्रदेशमा पनि ठुला दलदेखि साना दलसम्मका नेताहरु निर्वाचन लड्दैछन् । तनहुँबाट नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल चुनाव लड्दैछन् भने नवलपरासीबाट कांग्रेसकै महामन्त्री शशांक कोइराला,गोरखाबाट माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र नयाँ शक्तिका बाबुराम भट्टराई चुनाव लडिरहेका छन् ।

कास्कीबाट वर्तमान कानुनमन्त्री समेत रहेका कांग्रेस नेता यज्ञबहादुर थापा लगायतका नेताहरु उठेका छन् । उनीहरुले पनि जिल्ला विकासका एजेण्डादेखि प्रदेशको राजधानी स्थापनाको एजेण्डालाई समेत अघि बढाइरहेका छन् । ४ नम्बर प्रदेशको राजधानी पोखरामा स्थापना गर्ने बहस नेताहरुले उठाएका छन् ।

कांग्रेस नेता पौडेलले भने तनहुँलाई नमुना जिल्लाका रुपमा स्थापना गर्ने उद्घोष गरिरहेका छन् । ४ नम्बर प्रदेश प्रवेश गर्ने द्वार भएकोले पनि यसलाई नमुना जिल्लाको रुपमा विकास गर्ने नेता पौडेलको दाबी छ । त्यस्तै नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि समृद्ध गोरखाको नारालाई तिव्रता दिइरहेका छन् ।

पाँच नम्बर प्रदेश
त्यस्तै, प्रदेश नम्बर पाँचमा पनि दलका प्रभावशाली नेताहरुले चुनाव लड्दैछन् । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता चन्द्र भण्डारी गुल्मीबाट चुनाव लडिरहेका छन् भने एमालेका शंकर पोख्रेल र माओवादी केन्द्रका नेता कृष्ण महरा दाङबाट चुनाव लडिरहेका छन् । नवलपरासीबाट कांग्रेसका प्रभावशाली नेता एवम् पूर्वराजदूत दिपककुमार उपाध्याय, बर्दियाबाट एमाले उपाध्याक्ष वामदेव गौतम लगायतका नेताहरु चुनाव लडिरहेका छन् ।

उनीहरुले पनि आर्थिक समृद्धिको नारालाई विशेष रुपमा उठाइरहेका छन् । यो प्रदेशको राजधानी बुटवल र दाङ बनाउने अभियानमा नेताहरु देखिएका छन् । त्यस्तै, सो क्षेत्रका प्रभावशाली कांग्रेस नेता खुमबहादुर खड्काले भने यो पटक टिकट पाएनन् ।

६ नम्बर प्रदेश
त्यस्तै, ६ नम्बर प्रदेशबाट उठ्ने सबै दलका नेताहरुले आर्थिक समृद्धिको नारालाई प्राथमिकता दिइरहेका छन् । यो प्रदेशको राजधानी सुर्खेत बनाउने तयारी गरिएको छ ।

सात नम्बर प्रदेश
उता, सात नम्बर प्रदेशमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट चुनाव लडिरहेका छन् भने प्रधानमन्त्री पत्नी एवम् कांग्रेस नेतृ आरजु राणा कैलालीबाट चुनाव लडिरहेकी छन् । नेतृ राणाले कैलाली स्वर्ग बनाउने उद्घोष गरिरहेकी छन् ।

त्यस्तै अन्य दलका नेताहरुले समेत आर्थिक समृद्धि र विकासको नारालाई अघि बढाएका छन् । सात नम्बर प्रदेशको राजधानी धनगढी राख्नुपर्ने माग उठिरहेको छ । यद्यपि, केही नेताहरुले भने आ–आफ्नो सामरिक हिसावका सदरमुकामहरुलाई प्रदेशको राजधानी बनाउनुपर्नेमा जोड दिइरहेका छन् ।