सूचना प्रविधि

सूचना प्रविधिमैत्री बन्दै काठमाण्डौ महानगरपालिका

काठमाडौँ । महानगर र नगरवासीबीचको सम्बन्ध पारदर्शी एवं सूचना प्रविधिमैत्री बनाउन काठमाडौँ महानगरपालिकाले औपचारिक रुपमा ‘काठमाडौँ मेट्रो’ एप्सको सुरुवात गरेको छ ।

सोमबार यहाँ आयोजित एक कार्यक्रमका बीच कामपाका प्रमुख विद्यासुन्दर शाक्यले एप्सको शुभारम्भ गर्दै प्रविधिको उचित प्रयोगमार्फत कामपाले गरेका विकास निर्माणका कार्यलाई छिटो र यथार्थ रुपमा जनतामा लैजान एप्सको भूमिका महत्वपुर्ण रहने बताए ।

कामपाका सेवाग्राहीले सेवा सुविधाका बारे घरमै बसेर बझ्न र महानगरको अधिकार, दायित्व र कामको गतिविधिबारे प्रष्ट पार्न एप्सको भूमिका प्रभावकारी हुने विश्वास उनले व्यक्त गरे ।

उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ)ले प्रविधिको प्रयोग बिना आजका कामकाज सरल नहुने भएकाले सहजता र पारदर्शीताका लागि प्रविधिको प्रयोग बढाउँदै लैजानुपर्नेमा जोड दिइ ।

कामपाका कार्यकारी अधिकृत धनिराम पौडेलले महानगरपालिका प्रविधि प्रयोगमा धेरै पछाडि छ, ढिलै भए पनि प्रविधि विस्तारमा थप अर्को प्रविधिका रुपमा मोबाइल एप्स महानगरवासी समक्ष ल्याइएको बताए ।

महानगरले १७ हजार ४४३ वटा मोबाइलमा एकै पटक सूचना प्रवाह गर्न सक्ने समूह सन्देश प्रविधिको समेत विकास गरिसकेको छ । यो प्रविधिको मोबाइल प्रयोगकर्ताले कामपा सुरुवात गरेको यस एप्सको प्रयोग गरी महानगरको सम्पूर्ण गतिविधिबारे सजिलै जानकारी लिन सक्ने छन् ।