पु.समाचार

ठुला नेताले बेवास्ता गरेपछि राजपामा देखियो यस्तो संकट

काठमाण्डौ । मधेस आन्दोलनका बेला हुने प्रदर्शनमा अग्रपंक्तिमा रहेर नारा लगाउँथे अजयकुमार गुप्ता । प्रादेशिक संरचना, सीमांकन, समानुपातिक प्रतिनिधित्व लगायतका विषय उनको माग हुन्थ्यो । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) जिल्ला उपाध्यक्ष रहेका उनी विभिन्न ६ दल मिलेर राष्ट्रिय जनता पार्टी (राजपा) गठन भएपछि त्यसको उपाध्यक्ष पनि बने ।

मधेसवादी दलमा १० वर्ष खर्चेका उनी २० दिनअघि दल बदलेर राप्रपा (प्रजातान्त्रिक) का जिल्ला उपाध्यक्ष बनेका छन् । ‘मधेसको अधिकारका लागि भनेर १० वर्ष व्यर्थै खर्चिएँ,’ उनले भने, ‘नेतृत्व व्यक्तिवादी बन्यो ।’

राजपा केन्द्रीय उपाध्यक्ष रहेका ओमप्रकाश यादव (गुल्जारी) पनि ८ दिनअघि दल बदलेर एमाले प्रवेश गरे । उनी अहिले वाम गठबन्धनबाट रूपन्देही ४ का उम्मेदवार हुन् । राजपा बन्नुअघि उनी सद्भावनाका राष्ट्रिय उपाध्यक्ष थिए ।

गुल्जारी २०६४ को संविधानसभा निर्वाचन जितेर कृषि राज्यमन्त्रीसमेत बने । ‘अधिकांश समय मधेस आन्दोलनमा खटिएँ,’ उनले भने, ‘सिद्धान्त र विचारबाट मधेसवादी दल विचलित भएपछि छाँडे ।’ उनका अनुसार पार्टीले संविधान संशोधनलगायत माग पूरा नभएसम्म स्थानीय निर्वाचनमा भाग नलिने निर्णय गर्‍यो ।

‘उक्त निर्णय अनुसार हामीले निर्वाचन बहिष्कार गर्‍यौं,’ उनले भने, ‘तर पार्टीको नीतिविपरीत स्वतन्त्र उम्मेदवार उठाइयो ।’ नीति पालना नगर्दा पार्टीभित्र गुटरउपगुट बनेको उनले बताए भन्दै मंगलबारको कान्तिपुरमा लेखिएको छ ।