राजनीति

भक्तपुरमा त्रिपक्षीय चुनावी भिडन्त

भक्तपुर । आगामी मंसिर २१ गते दोस्रोचरणअन्तर्गत हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तीनवटा दलको चुनावी भिडन्त हुनेभएको छ ।

भक्तपुरमा ११ वटा दल चुनावी मैदानमा उत्रिए पनि मुख्यतया नेपाली काँग्रेस, वाम गठबन्धन र नेपाल मजदुर किसान पार्टीका उम्मेदवारबीच दुईवटा प्रतिनिधि सभा सदस्य र चारवटा प्रदेश सभा सदस्यका लागि कडा प्रतिस्पर्धा हुने भएको छ ।

क्षेत्र नं १ प्रतिनिधि सभातर्फ नेपाल मजदुर किसान पार्टीको राम्रो पकड रहेको मानिन्छ । यहाँ नेमकिपाका उम्मेदवारलाई पराजित गर्न कडा मेहनत गर्नुपर्ने देखिन्छ । विगतमा नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेले चुनाव लड्दै आएको यस क्षेत्रमा यस पटक प्रेम सुवाल उम्मेदवार बनेका छन् ।

काँग्रेसले बाबुराजा जोशी र वाम गठबन्धनले मिलन सुवाललाई उम्मेदवार बनाएको छ ।

प्रदेश सभातर्फ क्षेत्र नं १ ‘क’ मा नेमकिपालाई आफ्नो साख जोगाउन त्यति सहज छैन । यस क्षेत्रमा नेमकिपाका नीरज लवजू, वाम गठबन्धनका हरिशरण लामिछाने र नेपाली काँग्रेसका जीवन खत्रीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

क्षेत्र नं २ ‘ख’ भक्तपुर नगरक्षेत्रमा नेमकिपाका सुरेन्द्रराज गोसाईं, काँग्रेसका अनिल भुजु र वाम गठबन्धनबाट रोमन शिलाकार उम्मेदवार बनेका छन् ।

क्षेत्र नं २ मा प्रतिनिधि सभातर्फ काँग्रेसका नेता एवं पूर्वसभामुख दमननाथ ढुंगानासँग एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेत र नेमकिपाकी अनुराधा थापामगर भिड्ने भएका छन् ।

क्षेत्र नं २ ‘क’ सूर्यविनायकमा एमालेका शशीजंग थापा, काँगेसका अंगद खड्का र नेमकिपाका सरोजराज गोसार्इं चुनावी मैदानमा छन् । यहाँ तीनैजनाबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । क्षेत्र नं २ ‘ख’ मा काँग्रेसका पूर्व जिल्ला सभापति गणेशमान चक्रधर र एमालेका राजेन्द्रमान श्रेष्ठबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यसक्षेत्रमा नेमकिपाले प्रेमजंग थापालाई उम्मेदवार बनाएको छ ।