राजनीति

झापामा महिला उम्मेदवार ६ जना

भद्रपुर । अगामी मंसिर २१ गते हुने दोस्रो चरणअन्तर्गतको प्रतिनिधि सभा र प्रदेश सभाका लागि झापामा १४१ उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् ।

प्रतिनिधि सभातर्फ ५७ जना र प्रदेश सभातर्फ ८४ जना उम्मेदवार चुनावमा होमिएका छन् । प्रतिनिधि सभातर्फ दुईजना तथा प्रदेश सभातर्फ चारजना महिला उम्मेदवार रहेका छन् । प्रतिनिधि सभातर्फ सात तथा प्रदेश सभातर्फ छजना स्वतन्त्र उम्मेदवार प्रचार प्रसारमा जुटेका छन् ।

प्रतिनिधि सभातर्फ क्षेत्र नं २ मा नेकपा (एमाले)की पवित्रा निरौला (खरेल) र क्षेत्र नं ३ मा नेपाल जनता पार्टीका सुजाता ओली उम्मेदवार रहेकी छन् । प्रदेश सभातर्फ क्षेत्र नं १ ‘ख’ मा राष्ट्रिय जनता पार्टीका रमा मेचे, क्षेत्र नं २ ‘क’ मा राष्ट्रिय जनता पार्टीका निर्मला एक्तेन, क्षेत्र नं ३ ‘ख’ मा मंगोल नेशनल अर्गनाइजेशनका सत्यकला नेम्वाङ तथा क्षेत्र नं ५ ‘क’ मा स्वतन्त्र उम्मेदवार जम्मावती तिमल्सिना उम्मेदवार रहेका छन् ।

यस्तै, स्वतन्त्र उम्मेदवार प्रनिनिधि सभातर्फ क्षेत्र नं ३ मा वीरेन्द्र सापकोटा, क्षेत्र नं ४ मा एज्ञबहादुर खड्का, डिल्लीप्रसाद कँट्टेल र पर्शुराम काफ्ले तथा क्षेत्र नं ५ मा इन्द्रप्रसाद न्यौपाने, प्रेमबहादुर खड्का र इन्द्रराज अधिकारी रहेका छन् ।

प्रदेश सभातर्फ स्वतन्त्र उम्मेदवार क्षेत्र नं ४ ‘ख’ मा दिनानाथ सापकोटा र धनकुमार बुढाथोकी, क्षेत्र नं ५ ‘क’ मा हरिप्रसाद अधिकारी, जम्मावती तिमल्सिना र खड्गप्रसाद शिवाकोटी तथा ‘ख’ मा डम्बरबहादुर गुरुङ रहेका प्रमुख निर्वाचन अधिकृत खिलानाथ रेग्मीले जानकारी दिए ।

प्रनिनिधि सभातर्फ क्षेत्र नं १ मा सात जना, २ मा ११ जना, ३ मा १२ जना, ४ मा १३ जना तथा क्षेत्र नं ५ मा १४ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रदेश सभातर्फ क्षेत्र नं १ को क र ख मा आठ/आठजना, क्षेत्र नं ३ को क र ख मा सात/सातजना, क्षेत्र नं ४ को ‘क’ मा छ जना र ‘ख’ मा ११ जना तथा क्षेत्र नं ५ को ‘क’ मा १२ तथा ‘ख’ मा नौजना उम्मेदवार रहेका छन् ।