राजनीति

रञ्जु दर्शनाबारे एमाले कार्यकर्ताले अनावश्यक हल्ला फैलाएपछि…!

काठमाण्डौ । आगामी मंसिर १० र २१ गते हुने प्रतिनधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा यसबेला सबै दलका नेता–कार्यकर्ताहरु होमिइसकेको अवस्था छ । ठुला दलहरुले साना दलका नेता कार्यकर्ताहरुलाई आकर्षित गरी आ–आफ्नो पार्टीमा प्रवेश गराउने क्रम पनि जारी छ । पार्टी प्रवेश र चुनावी कार्यक्रमका तस्वीहरुले सामाजिक सञ्जालहरु रंगिएका छन् ।

चुनावको मुखमा यी घटनाहरु स्वभाविक नै हुन् तर चुनावकै मुखमा अर्को एउटा नराम्रो राजनीतिक संस्कृति पनि भित्रिने गरेको छ । चुनावको मुखमा कुनै पनि पार्टीका लोकप्रिय नेताहरुको बारेमा अफवाह र अनावश्यक हल्ला फैलाउने काम हुने गरेको छ । त्यस्ता खालका हल्लाहरु अहिले पनि भैरहेका छन् ।

केही दिनअघि देखि नेपाली राजनीतिक सतहमा एउटा हल्लाले प्रश्रय पाइरहेको छ । ती हल्लाकी पात्र बनेकी छन्, विवेकशील साझा पार्टीकी युवा नेतृ रञ्जु दर्शना । रञ्जु दर्शना स्थानीय चुनावमा काठमाण्डौ महानगरको मेयरमा उठेकी नेतृ हुन् ।

उनले चुनावमा २३ हजार मत प्राप्त गरेर निकै ठूलो लोकप्रियता कमाएकी छन् । उनी विवेकशील साझा पार्टीकी मात्र होइन, नेपालकी साझा युवा नेतृ हुने तरखरमा रहेकी छन् । उनै दर्शनाको बारेमा अहिले राजनीतिक बजारमा एमाले प्रवेश गरिन् भनेर निकै हल्ला मच्चाइएको छ । यो हल्ला विशेषगरी एमाले र माओवादी गठबन्धनका कार्यकर्ताहरुले मच्चाइरहेका छन् ।

दर्शनासँगै विवेकशील साझा पार्टीकै अध्यक्ष उज्जल थापाका बारेमा पनि यो खालको हल्ला मच्चाइरहेका छन् । वास्तवमा यो हल्लामा सत्यता छ कि छैन ? के थापा र दर्शना एमालेमा प्रवेश गर्न थालेका हुन् त ?

चुनावका मुखमा यो खालको अफवाह फैलाउने काम हुनु स्वभाविक भएतापनि यसरी किन हल्ला चल्ने गर्छ ? यो सवालमा सम्बन्धित पार्टीहरुले मुख खोलेका छैनन् । यद्यपि, साझा विवेकशील पार्टीका नेता रविन्द्र मिश्रले भने यो हल्लालाई ठाडै अस्वीकार गरेका छन् ।

अनावश्यक हल्लाको पछि नलागौं
विवेकशील साझा पार्टीका नेता रविन्द्र मिश्रले आफ्नो पार्टीका अध्यक्ष थापा र नेतृ दर्शनाको बारेमा एमाले कार्यकर्ताहरुले अनावश्यक हल्ला फैलाएको आरोप लगाएका छन् ।

उनले भनेका छन्, ‘रञ्जुको बारेमा फैलाइएको हल्ला अनावश्यक हो, हाम्रो पार्टी हल्लाको पछि लागेको छैन । हामी अहिले सँगै चुनावी क्षेत्रमा व्यस्त रहेका छौ ।’