राजनीति

धनुषामा विमलेन्द्र निधि र राजेन्द्र महतोबीच टक्कर बढ्दै, यस्तो सम्म छ भित्री तयारी !

काठमाण्डौ । मंसिरमा हुने आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको माहोल ह्वात्तै तातेको छ । मंसिर १० र २१ गते मुलुकभर हुने उक्त निर्वाचनमा कुन–कुन उम्मेद्वारको कस्तो प्रतिस्पर्धा हुँदैछ भनेर यसबेला चर्को बहस सुरु भएको छ ।

यसैबीच अहिले दुई नम्बर प्रदेशको एउटा महत्वपूर्ण निर्वाचन क्षेत्र, जहाँ नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधि र राजपाका नेता राजेन्द्र महत्तोबीच प्रतिष्पर्धा हुँदैछ, त्यसले नेपाली राजनीतिक परिवेश तताइरहेको छ ।

सर्लाहीबाट चुनाव लड्दै आएका नेता महत्तो एकाएक धनुषा क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा प्रत्यक्ष तर्फको उम्मेद्वार भएपछि सो क्षेत्रबाट चुनाव लड्दै आएका कांग्रेसका प्रभावशाली नेता निधिमा अर्को चूनौती थपिएको महसुस गरेका छन् । नेता महतो किन एकाएक धनुषा–३ मा चुनाव लड्न पुगे ?

यो सवालमा दुवै दल र त्यसका नेता–कार्यकर्ताहरुको आ–आफ्नै तर्क भएपनि स्थानीय चुनावमा जनकपुर उपमहानगरपालिकामा राजपाका उम्मेद्वार विजयी भएपछि महतोलाई त्यसले प्रभाव पारेको धेरैको आंकलन गरिएको छ । स्थानीय चुनावमा राजपाका उम्मेद्वारले जनकपुर उपमहानगरपालिकामा मेयरमा जित हासिल गरेका थिए ।

जनकपुर उपमहानगरपालिकामा देखिएको राजपा पक्षको जनमतले नेता महतोलाई लोभ्याए पनि उनको पक्षमा जनमत बलियो छ भनि हाल्न सक्ने आधार नदेखिएको कांग्रेस नेता–कार्यकर्ताहरु बताउँछन् ।

महतो यसबेला चुनावी घरदैलो कार्यक्रममा व्यस्त रहेका छन् । तर राजपा र महतोको कार्यक्रम र प्रभावित क्षेत्रहरुलाई आफ्नो पक्षमा पार्न कांग्रेस नेता निधिले सबै खालका अस्त्रहरु प्रयोग गर्ने सम्भावना देखिएको धनुषाका स्थानीय सर्वसाधारणहरु बताउन थालेका छन् । महतोले एक्कासि धनुषाबाट टिकट लिएपनि राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले महतोलाई खुलेर सहयोग गर्ने आश्वासन दिइसकेका छैनन् ।

नेताद्वय ठाकुर र यादवले महतोले हतारमा धनुषाबाट टिकट लिनुलाई नै शंकाको दृष्टिले हेरिरहेको श्रोतको दाबी छ । उता,सो क्षेत्रबाट एमाले र माओवादीबीचको वाम गठबन्धनले नेता रामसिंह यादवलाई उम्मेद्वार बनाएको छ । उनी पनि चुनाव जित्न सबै खालका हत्कण्डाहरु प्रयोग गरिरहेका छन् । कांग्रेसले भने राजेन्द्र महतोलाई वाम गठबन्धनले उपयोग गर्ने आशंका गरिरहेको छ ।

नेताहरुबीच यसरी हुँदैछ कडा टक्कर !
धनुषा–३ मा अहिले चुनावी प्रतिस्पर्धा गर्ने तीनै जना नेताहरु राजनीतिक,आर्थिक, सामाजिक प्रतिष्ठाका विषयमा उत्तिक्कै शक्तिशाली नेताहरुमा पर्ने गर्छन् । कांग्रेस नेता निधि, राजपा नेता महतो र वाम गठबन्धनका नेता यादव आर्थिक रुपमा उत्तिक्कै समृद्ध नेताहरुमा पर्छन् । आगामी चुनावमा यी तीनै नेताले करोडौ रुपैयाँ पैसा उपयोग गर्न सक्ने आंकलन गरिएको छ । श्रोतका अनुसार निधिले महतोलाई हराउन र महतोले निधिलाई हराउन साम, दाम, दण्ड, भेद सबैको प्रयोग गर्ने अवस्था सृजना भएको छ ।

धनुषाको राजनीतिक परिदृष्यलाई नजिकबाट नियाल्दा अहिले कांग्रेस नेता निधिलाई अर्का एक चतुर र धूर्त राजनीतिक खेलाडीले सपोर्ट गरेका रिपोर्टहरु बाहिर आइरहेका छन्, जसको सपोर्टमा सो क्षेत्रका अघिल्ला निर्वाचनहरु जितिने गरिन्थ्यो । उनी हुन् सञ्जय साह उर्फ तक्ला । उनी अहिले मधेस आन्दोलनका क्रममा हिंसात्मक अभियानमा लागेको आरोपमा जेलमा रहेका छन् ।

जेलबाटै उनले नेता निधिलाई चुनाव जिताउने अभियानमा लागेको श्रोतको दाबी छ । यसरी धनुषा–३ को चुनावमा तीन नेताबीच कडा टक्कर भैरहेको देखिन्छ । राजनीतिक रुपमा राष्ट्रिय स्तरको छवि निर्माण गरिसकेका नेता निधि र महतोबीचको यो पटकको प्रतिस्पर्धा निकै रोमाञ्चक देखिदैछ ।

उता, मधेस आन्दोलनका क्रममा एउटा महत्वपूर्ण राष्ट्रिय एजेण्डालाई जबर्जस्त रुपमा अघि ल्याउन सफल भएका नेता महतोको उक्त मुद्धा नयाँ संविधानमा सम्बोधन गर्नका लागि कांग्रेस नेता निधिले पनि सहयोग भने नगरेका होइनन् ।

नयाँ संविधानमा मधेसीहरुको समावेशीको मुद्धालाई लगभग सबै मधेसी नेताहरुले सहमति जनाए पनि निर्वाचनको एजेण्डामा भने फरक–फरक बाटो तय गरिरहेका छन् । जसले चुनावी प्रतिस्पर्धालाई कडा बनाइदिने आंकलन गरिदैछ ।