राजनीति

कास्कीमा १९ राजनीतिक दल र १०० उम्मेदवार चुनावी मैदानमा

पोखरा । मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कास्कीमा विभिन्न १९ राजनीतिक दल र स्वतन्त्र गरी १०० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधि सभाका तीन र प्रदेश सभाका छ निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली काँग्रेस (बिपी), देशभक्त गणतान्त्रिक मोर्चा, विवेकशील साझा पार्टी, आमूल परिवर्तन मसिहा पार्टी र राष्ट्रिय जनमोर्चाका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै, संघीय समाजवादी फोरम, नेपाल दलित पार्टी, नेकपा (माओवादी केन्द्र), मंगोल नेशनल अर्गनाइजेशन, एकीकृत राप्रपा (राष्ट्रवादी), नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा (माले), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनसमाजवादी पार्टी, राप्रपा र राप्रपा (प्र) का उम्मेदवारले उम्मेदवारी दिएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा, संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी र मंगोल नेशनल अर्गनाइजेशन पार्टीले प्रतिनिधिसभाका तीन र प्रदेशसभाका छवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् ।

एमालेले प्रतिनिधिसभाका तीन, प्रदेशसभा १ (ख), २ (क) र ३ (ख) मा, माओवादी केन्द्रले प्रदेशसभा १ (क), २ (ख) र ३ (क) मा नेपाल दलित पार्टीले प्रतिनिधिसभाका तीन, प्रदेशसभा १ (क), २ (ख) ३ (क) र (ख), विवेकशील साझा पार्टीले प्रतिनिधिसभाका तीन, प्रदेशसभा १ (क), (ख), २ (क), ३ (क) र (ख)मा उम्मेदवारी दिएका छन् ।

त्यस्तै, राप्रपाले प्रदेशसभा १ (क), (ख), २ (क), (ख), ३ (क) र (ख), नेपाली काँग्रेस (बिपी )ले प्रतिनिधिसभा १, राप्रपा (प्र), ले प्रदेश १ (क) र २ (ख), जनसमाजवादी पार्टीले प्रतिनिधिसभा ३ र प्रदेशसभा ३ (क), नेकपा मालेले प्रतिनिधिसभा २, एकीकृत राप्रपा (राष्ट्रवादी)ले प्रतिनिधिसभा १, राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा १ र २, प्रदेशसभा १ (क), २ (क), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रतिनिधिसभा २, देशभक्त जनगणतान्त्रिक मोर्चाले प्रतिनिधिसभाका तीन, प्रदेशसभा १ (क) र (ख), आमूल परिवर्तन मसिहा पार्टीले प्रतिनिधिसभा १ र प्रदेशसभा १ (ख) मा उम्मेदवारी दिएको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ ।

पाँच स्वतन्त्र उम्मेदवारले विभिन्न क्षेत्रमा उम्मेदवारी दिएकामा प्रदेश नं १ (क) का स्वतन्त्र उम्मेदवार टीकाराम पंगेनीको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले रद्द गरेपछि अब चार जना स्वतन्त्र उम्मेदवार मात्रै चुनावी मैदानमा छन् ।