पु.समाचार

यी हुन् २०४८ सालदेखि लगातार सांसद भैरहने नेताहरु

काठमाडौं । मंसिर १० र २१ गते दुई चरणमा हुने प्रनिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार भएका नेतामा २०४८ सालदेखि २०७४ सम्म लगातार सांसद/सभासद् हुने मौका पाएका नेता पनि छन्।

६ नेताले २०४८ सालदेखि गत असोज २८ सम्म करिब २६ वर्षसम्म लगातार सांसद/सभासद् हुने मौका पाएका छन् । यी नेतामध्ये नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले यसपटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएनन् । बाँकी पाँच नेताले छैटौंपटकका लागि अहिले पनि उम्मेदवारी दिएका छन् । बिजुक्छेले नयाँ पुस्तालाई अवसर दिन आफूले यसपटक उम्मेदवारी नदिएको बताए । उनको नाम समानुपातिक उम्मेदवारको सूचीमा पनि राखिएको छैन।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा २०४८ सालदेखि डडेलधुराबाट लगातार सांसद÷सभासद् निर्वाचित हुँदै आएका छन् । अहिले पनि सोही जिल्लाबाट उनी प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवार छ।

यसैगरी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि तनहुँबाट निरन्तर सांसद/सभासद् विजयी हुँदै आएका छन् । उनी २०४८, २०५१, २०५६, २०६४ र २०७० सालको संसदीय र संविधानसभा सदस्य चुनावमा विजयी भएका छन् । अहिले पनि उनी प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँबाटै प्रतिस्पर्धा गर्दैछन् ।

कांग्रेसका अर्का नेता विजय गच्छदार सुनसरीबाट २०४८ सालयता सबै चुनावमा विजयी भएका छन् । २०४८, २०५१, २०५६ सालको चुनावमा उनी कांग्रेसबाट लडेका थिए भने २०६४ सालको पहिलो संविधानसभा चुनावमा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका तर्फबाट चुनाव लडेका थिए ।

२०७० सालको चुनावमा भने उनी आफैं अध्यक्ष रहेको तत्कालीन मधेसी जनअधिकार फोरम फोरम नेपाल लोकतान्त्रिकबाट उम्मेदवार भएका थिए । अगामी प्रतिनिधिसभा सदस्य चुनावमा पनि उनी कांग्रेसबाट चुनाव लड्दैछन्।

कांग्रेस नेता पूर्णबहादुर खड्का र रामजनम चौधरीले पनि २०४८ सालयता निरन्तर संसद्सं/विधानसभामा प्रतिनिधित्व गर्ने अवसर पाएका छन् । दुवैजना चारपटक प्रत्यक्ष र एकपटक समानुपातिक निर्वाचन प्रणालीबाट सांसद/सभासद् भएका हुन्। खड्का २०४८, २०५१, २०५६ र २०६४ सालको चुनावमा सुर्खेतबाट विजयी भए । २०७० सालको चुनावमा भने उनी समानुपातिकबाट सांसद बने ।

२०४८, २०५१ र २०५६ को चुनावमा कैलालीबाट कांग्रेसको टिकटमा विजयी भएका चौधरी २०६४ सालको चुनावमा तत्कालीन मधेसी जनअधिकार फोरमबाट समानुपातिकबाट सांसदमा छानिए । २०७० सालमा उनी तत्कालीन फोरम लोकतान्त्रिकको टिकटमा कैलालीबाट सांसदमा विजयी भए । आगामी प्रतिनिधिसभा चुनावमा उनी कैलालीबाट पुनः कांग्रेसबाट प्रतिस्पर्धा गर्दैछन् । उनी भन्छन्, ‘मैले २०४८ सालदेखि अहिलेसम्म लगातार सांसद हुने मौका पाएको छु । यस्तो मौका पाउने हामी थोरैमात्र छौं।’

आइतबारको नागरिकमा लेखिएको छ, यसैगरी केही नेताले २०४८ सालदेखि अहिलेसम्म निरन्तर राजनीतिक दलको टिकट पाइरहेका छन् । यसरी सबै संसदीय/संविधानसभा चुनावमा दलबाट टिकट पाउने नेतामा कांग्रेसका देउवा र पौडल अहिले टिकट बाँड्ने ठाउँमा आफैं छन् । एमालेका केपी ओली, झलनाथ खनाल, माधव नेपाललगायत नेताले लगातार टिकट पाउँदै आएका छन् । उनीहरू पनि अहिले आफैं टिकट बाँड्ने ठाउँमा छन् । माधव नेपाल २०४८ सालको राष्ट्रियसभामा विपक्षी दलका नेता थिए।

कांग्रेसका बलबहादुर केसी, रमेश रिजाल, रामशरण महत, अर्जुननरसिंह केसी, दीपकुमार उपाध्यायलगायतका नेताले हरेक चुनावमा टिकट पाउँदै आएका छन् । तर, सबै चुनावमा विजयी हुने मौका भने पाएका छैनन् । पर्वतका अर्जुन जोशी लगातार तीन पटक चुनाव जितेका छन् भने पाल्पाका हरि नेपालले पनि लगातार चारपटक टिकट पाएका छन् ।

नेपाल २०४८ र २०७० सालको चुनावमा विजयी भए भने २०६४ /२०५६ सालको चुनावमा पराजित भए । आगामी प्रतिनिधिसभा चुनावमा उनी फेरि पाल्पाबाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गर्दैछन् । उनी भन्छन, ‘दुईवटा चुनामा विजयी भएँ र दुईवटामा पराजित भएँ । अब पाँचौपटक प्रतिस्पर्धा गर्देछु ।’ एमाले नेताहरू वामदेव गौतम (बर्दिया), पृथ्वीसुब्बा गुरूङ (लमजुङका) र राजेन्द्र पाण्डे (धादिङ) ले अहिलेसम्म लगातार टिकट पाएका छन्।

राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमसेर राणा र दीपक बोहराले पनि लगातार टिकट पाएका छन् । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्य शरत्सिंह भण्डारी र नेता सर्वेन्द्रनाथ शुक्ल तथा हृदयेश त्रिपाठी, रामचन्द्र झालगायतका नेताहरूले पनि लगातार संसदीय चुनाव लड्दै आएका छन् ।