पु.समाचार

जनकपुरधामलाई आदर्श शहरका रूपमा विकास गर्न जोड

जनकपुरधाम । दशबुँदे जनकपुरधाम घोषणापत्र जारी गर्दै यहाँ आज सम्पन्न ‘रामायण सर्किट र मिथिला–अवध सम्बन्ध’ विषयको अन्तर्राष्ट्रिय सम्मेलनले जनकपुरधामलाई आदर्श शहरका रूपमा विकास गर्ने परियोजना कार्यान्वयनमा जोड दिएको छ ।

जनकपुरधाम र अयोध्याको पौराणिक सम्बन्धलाई जीवन्त राख्ने सन्दर्भमा जनकपुरधाम आउने श्रद्धालु, आस्थावान् र पर्यटकलाई तीर्थाटन गराउन सक्ने सम्पदा र क्षेत्रबारे सूचना दिई जनकपुरमा बसाइ अवधि बढाउने आधार र स्थलको व्यवस्थापनको आवश्यकता सम्मेलनले औँल्याएको छ ।

सम्मेलनले जनकपुरबाट अयोध्या जाने क्रममा सीतारामले चरण स्पर्श गरेको पाँच स्थललाई लक्ष्य गरी जनकपुरधामदेखि अयोध्यासम्म ‘सीताराम लोकसांस्कृतिक यात्रा’ गर्ने अवधारणा अघि सारेको छ । नेपालका विश्वविद्यालयमा सीताराम र जनकको चरित्र शोध केन्द्र स्थापना गरी चरित्र अध्ययन–अध्यापनका साथै शोध शुभारम्भका लागि सम्बन्धित निकायमा पहलको आवश्यकतामा सम्मेलनले ध्यानाकर्षण गराएको छ ।

सम्मेलनले जानकी नवमीमा राष्ट्रिय बिदाको माग गर्दै जनकपुर अयोध्या बस सेवा सञ्चालन र जनकपुरदेखि अयोध्या जान सक्ने रेल सेवा विस्तारमा तीव्रताको खाँचोमा जोड दिएको छ । त्यस्तै सीताको जीवनसँग सम्बन्धित लिखित र अलिखित पुस्तकको सूची प्रकाशन र सीताको जीवनका विविध प्रसङ्ग भएको ध्वनि र प्रकाश गाथा प्रदर्शन गर्न सम्बन्धित निकायमा आग्रह गर्ने निर्णय सम्मेलनले गरेको छ । मिथिला–अवधको सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउन जनकपुरधाममा अवध सांस्कृतिक महोत्सव र अयोध्यामा मिथिला सांस्कृतिक उत्सव गर्ने निर्णय पनि सम्मेलनले गरेको छ ।

मिथिला अवध सांस्कृतिक संरक्षण परिषद्, जनकपुर उपमहानगरपालिका, जनकपुर बृहत्तर क्षेत्र विकास परिषद् र जानकी मन्दिरद्वारा आयोजित दुईदिने सम्मेलनमा मिथिला–अवधको सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्ध, जनकपुर–अयोध्या कोरिडोरको अवधारणाअन्तर्गत रामजानकी मार्ग, जनकपुधामको मन्दिर, पोखरी र मिथिला, रामायण परिपथअन्तर्गत पर्यटन उद्योगको सम्भावना र जनकपुर र अयोध्याको विकासले नेपाल र भारतको आर्थिक विकासको भूमिका विषयको छलफलमा नेपाल र भारतका धार्मिक, आर्थिक विज्ञ र अनुसन्धानकर्ताको सहभागिता थियो ।