राजनीति

चितवनमा चुनावी माहोल ह्वात्तै बढ्यो, गठबन्धनले गर्दा काँग्रेस सुस्त

रत्ननगर, चितवन । दोस्रो चरणअन्तर्गत हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्तासँगै चुनावी माहोल ह्वातै बढेको छ ।

राजनीतिक दलका नेता अहिले गाउँगाउँ गएर चुनावी प्रचारप्रसार अभियान शुरु गरेका छन् ।

मुख्य गरी वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनमा आवद्ध राजनीतिक दलको सक्रियता भने बढी देखिएको छ । अन्य साना राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको उपस्थिति भने न्यून देखिन्छ ।

वाम गठबन्धनबाट चितवन क्षेत्र नं ३ का उम्मेदवार (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल समेत जिल्लामा तीन दिनदेखि चुनावी प्रचार अभियानमा छन् ।

प्रचारप्रसारका क्रममा उनले स्थायी शान्ति र देशको समृद्धिका लागि यो पटकको चुनाव महत्वपूर्ण भएको भन्दै त्यसलाई पूरा गर्न चितवनका जनतामा आइपुगेको उल्लेख गरे ।

उनका प्रतिष्पर्धी भएर लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष विक्रम पाण्डेसमेत चुनावी प्रचारप्रसार अभियानमा छन् । केन्द्रीय नेता उठेकाले चिनवन क्षेत्र नं ३ मा धेरै चासो र चर्चाको विषय बनेको छ ।

तीन वटा निर्वाचन क्षेत्र रहेको चितवनमा वाम गठबन्धनबाट क्षेत्र नं १ मा एमाले नेता सुरेन्द्र पाण्डे र क्षेत्र नं २ मा कृष्णभक्त पोखरेल उम्मेदवार छन् ।

यता लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नं १ मा राजेन्द्र बुर्लाकोटी र क्षेत्र नं २ मा शेषनाथ अधिकारीको उम्मेदवारी छ । सबै नेता अहिले चुनावी प्रचार अभियानमा गाउँगाउँमा छन् ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) चितवनले आगामी मंसिर २१ गतेको निर्वाचनका लागि माओवादी केन्द्रका नेता अमिक शेरचनको नेतृत्वमा संयुक्त निर्वाचन परिचालन कमिटी बनाएर प्रचार अभियान थालेको छ ।

समितिको उपसंयोजकमा एमालेका नेता कृष्णप्रसाद खनाल र देवी ज्ञवाली तथा माओवादी केन्द्रका नेता नारायण दाहाल र सूर्य सुवेदी छन् । समितिमा दुई पार्टीका २५० जना रहने र ३५ सदस्यीय सचिवालय समिति बनाइएको छ । पार्टीको संयुक्त भेलाले दुवै पार्टीका जिल्ला इञ्चार्ज संयोजक रहने गरी पार्टी एकिकरण संयोजक समिति समेत गठन गरेको जनाएको छ ।

समितिको संयोजकमा एमालेका जिल्ला इञ्चार्ज कृष्ण खनाल र माओवादी केन्द्रका इञ्चार्ज ईश्वरी भट्टराईलाई तोकिएको छ ।

समितिको सदस्यमा एमालेका कृष्ण खनाल, तेजेन्द्र खड्का, पार्वती रावल, तथा माओवादी केन्द्रका ज्ञानु बस्नेत र घनश्याम दाहाल छन् ।

अर्कोतिर, नेपाली काँग्रेस चितवनले आगामी मंसिर २१ गते हुने निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन विभिन्न सात समिति गठन गरेको छ ।

काँग्रेस जिल्ला सचिव उत्तम जोशीकाअनुसार काँग्रेस जिल्ला उपसभापति कैलाश कोइरालको नेतृत्वमा एक हजार एक सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

यस्तै पूर्वसांसद रामकृष्ण घिमिरेको संयोजकत्वमा लोकतान्त्रिक गठबन्धनका समन्वय समिति, नेपाली काँग्रेस चितवनका निर्वतमान सभापति टेकप्रसाद गुरुङ्को संयोजकत्वमा अनुगमन तथा सुझाव समिति, जिल्ला सचिव उत्तम जोशीको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरेको छ ।

काँग्रेस चितवनका अर्कासचिव राजीव न्यौपानेको संयोजकत्वमा भातृ संस्था एवं शुभेच्छुक संस्था परिचालन समिति, कोषाध्यक्ष शंकर कँडेलको संयोजकत्वमा आर्थिक समिति र सहसचिव सूर्य अर्यालको नेतृत्वमा घोषणा पत्र तयारी समिति गठन गरिएको जोशीले जानकारी दिए ।

आफ्ना भातृसंस्था, शुभेच्छुक एवं क्रयाशील सदस्यलाई निर्देशन दिइएको जोशीले जानकरी दिए । बाम गठबन्धनले गर्दा अन्य देसभरमा भन्दा चितवनमा काँग्रेसको गतिबिधि सुस्त रहेको एक केन्द्रीय सदस्यले सुर्यखबरलाई बताए ।