राजनीति

लोकतन्त्र नै मुलुकको समृद्धिको पहिलो आधार : डा कोइराला

नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनलाई उत्साहजनक रुपमा सम्पन्न गराउन मतदातालाई आग्रह गरेका छन् ।

नवलपरासीको रजहरमा खानेपानी ट्यांकी मर्मत तथा सरसफाइका लागि जनसम्पर्क समिति बेल्जियमले गरेको सहयोग रकम हस्तान्तरण कार्यक्रममा डा कोइरालाले निर्वाचनलाई विजय र पराजयभन्दा पनि देश र देशवासीको जीतका रुपमा लिनुपर्ने विचार राखे । डा कोइरालाले नवलपरासीको नवलपुर क्षेत्रलाई ४ नं प्रदेशमा राख्न आफूले भूमिका खेलेको बताउँदै आगामी पाँच वर्षमा सो क्षेत्रमा ट्रमा सेन्टर, चक्रपथलगायत पर्याप्त अवधारणा पूरा गरिने प्रतिबद्धता व्यक्त गरे ।

डा कोइरालाले नवलपरासीलाई समुन्नत विकासका लागि आफ्नो पहल अझ अगाडि बढ्ने बताए । लोकतन्त्र नै मुलुकको समृद्धिको पहिलो आधार भएको बताउँदै अब लोकतन्त्रलाई अझ स्थापित गर्न नेपाली काँग्रेसलाई विजयी बनाउन आम मतदातालाई आग्रह गरे ।

सो अवसरमा जनसम्पर्क समिति बेल्जियमले नवलपरासीको देवचुली नगरपलिका १६ स्थित पहाडी क्षेत्रमा रहेको बाह्रकोल खानेपानी उपभोक्ता समितिलाई रु एक लाखको चेक सहयोगस्वरुप हस्तान्तरण गरेको थियो ।