पु.समाचार

‘समृद्ध नेपालका लागि गुणस्तरीय शिक्षा’‘

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले खुशी नेपाली र समृद्ध नेपालका लागि आगामी दिनमा गुणस्तरीय शिक्षालाई ध्यान दिन सरकार, शैक्षिक सस्था र अभिभावकलाई आह्वान गरेका छन् । सिद्धार्थ वनस्थली इन्ष्टिच्यूटको प्रज्ञा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले प्रतिष्पर्धा र विशिष्टताको वर्तमान युगमा विश्व बजारसँग प्रतिष्पर्धा गर्न सक्ने जनशक्तिले उत्पादन गर्ने शिक्षाको खाँचो औल्याउँदै यसका लागि विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका पाठ्यक्रममा सीप र दक्षता बढाउने विषयलाई समावेश गर्न सुझावसमेत दिए ।

सो अवसरमा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतले नेपाली भएर नेपाललगायत विश्वमा आँखा उपचार गराउने कार्यमा संलग्न हुन पाएकामा आफूलाई गौरव लागेको सुनाए । सन् २००६ को विश्व प्रसिद्ध म्यागासेसे पुरस्कार प्राप्त डा रुइतले भने “अथक मिहिनेत, कामप्रति प्रतिबद्धता र कटिबद्धता एवं आफ्नो पेशालाई सम्मान गर्दा सफलता प्राप्त गर्न सकिन्छ, विचलित हुुनुहुँदैन । ”
इन्ष्टिच्यूटका संस्थापक प्राचार्य लक्ष्मण राजवंशीले आफूले संस्थाको शैक्षिक उन्ननयका लागि पाँच दशक बिताएको स्मरण गर्दै दक्ष जनशक्तिलाई स्वदेशभित्र नै सेवा गर्ने अवसर राज्यले मिलाइदिनुपर्छ, उनले भने । इन्ष्टिच्यूटका प्राचार्य रुपक राजवंशीले इन्ष्टिच्यूटलाई शैक्षिक र प्राज्ञिक उन्ननयको संस्थाका रुपमा आगामी दिनमा थप विकसित गर्दै लैजाने जानकारी दिँदै इन्ष्टिच्यूट सार्वजनिक शैक्षिक गुठीका रुपमा रुपान्तरण भएको बताए ।
विसं २००८ मा वनस्थली विद्यालयका रुपमा बालाजुमा स्थापित सो विद्यालयमा अन्य तीन विद्यालय गाभिई २०३० सालमा सिद्धार्थ वनस्थली इन्ष्टिच्यूटका रुपमा रुपान्तरण भएको थियो । इन्ष्टिच्यूट सञ्चालनका लागि हरिशम्शेर जबराले बालाजुस्थित औद्योगिक क्षेत्रभित्र रहेको जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।
विसं २०३२ मा सर्वप्रथम प्रवेशिका परीक्षामा सहभागी हुँदा इन्ष्टिच्यूट दोस्रो स्थान प्राप्त गर्न सफल भएको थियो । हालसम्म १४ हजारभन्दा बढीले सो परीक्षा उत्कृष्ट अंकमा उत्तीर्ण भई वीरेन्द्र शिल्ड पदक सात पटक प्राप्त गरिसकेको छ ।
इन्ष्टिच्यूटले सस्तो शुल्कमा उत्कृष्ट विद्यालय शिक्षा प्रदान गरेको छ । यसैगरी विद्यालयले गरिब तथा अतिविपन्न वर्गका छात्रछात्रालाई निःशुल्क गुणस्तरीय शिक्षा दिइरहेको आज यहाँ आयोजित कार्यक्रममा जनाइएको छ । संस्थाले आगामी दिनमा आफूले थप शैक्षिक तथा प्राज्ञिक उन्नयन गर्नमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गर्दै नकमाउने र नकुम्ल्याउने संस्था बनाउने सार्वजानिक उद्घोष गरेको छ । सो अवसरमा इन्ष्टिच्यूटमा लामो समयदेखि काम गर्दै आएका शिक्षक तथा कर्मचारीलाई दीर्घसेवा पदकसमेत प्रदान गरिएको थियो । यसैगरी भूकम्पका समयमा खोज उद्धार तथा छात्रवृत्तिमा सहयोग गरेका चिनियाँलाई पनि सम्मान गरिएको थियो ।