स्वास्थ्य

यसरी भयो डेंगु जाँच्ने कीटको अभाव

सुरुङ्गा, झापा । झापामा डेंगु रोगको रगत परीक्षण गर्ने कीटको अभाव भएको छ । जिल्लामा डेंगु रोगीको संख्या दिनप्रतिदिन बढिरहेको समयमा जिल्ला जनस्वास्थ्य झापासँग डेंगु रोग परीक्षण गर्ने कीटको अभाव भएको हो ।

कीट अभावसँगै डेंगु रोग परीक्षणका लागि स्वास्थ्य संस्था पुगेका सर्वसाधारण रोगको परीक्षण नै नगरी घर फर्कन बाध्य छन् । जिल्लामा चार दिनदेखि डेंगु रोग परीक्षणका लागि कीट अभाव भएको बताइएको छ ।

बिर्तामोड नगरपालिकामा गत असोज महिनाको पहिलोसातादेखि यो रोगको संक्रमण देखापरेको थियो । योसँगै मेची नगरपालिका र दमक नगरपालिकामा डेंगु रोगी फेला परेका थिए । अहिले तीन नगरपालिकासहित बुद्धशान्ति गाउँपालिकामा पनि डेंगु रोगी फेला परेका छन् ।

झापामा डेंगु रोगीको संख्या बढेपछि असोज ६ गते जिल्ला जनस्वास्थ्य कार्यालय झापाले ३०० कीट खरिद गरेको जनस्वास्थ्यका डेंगु रोग नियन्त्रण शाखाका स्रोत व्यक्ति कुलबहादुर पौडेलले जानकारी दिए ।

सो कीट जिल्ला जनस्वास्थ्य कार्यालय, मेची अञ्चल अस्पताल भद्रपुर, क्षयरोग निवारण संस्था भद्रपुरमा रहेको जनस्वास्थ्यको ल्याव, दमक अस्पताल, सुरुङ्गा प्राथमिक स्वास्थ्य केन्द्र, अनारमनी, शनिश्चरे, धुलाबारी, काँकडभिट्टा हेल्थ पोष्टमा रगत परीक्षणका लागि कीट पठाएको थियो । डेंगु रोगको लक्षण देखिएका बिरामीलाई चिकित्सकले लेखिदिएको पूर्जा हेरेर मात्र बिरामीको रगत परीक्षण गराउँदै आएको पौडेलले बताए ।

झापामा अहिले मेची अस्पतालसहित अधिकांश हेल्थ पोष्टमा डेंगु टेष्ट कीटको अभाव भएको छ । मेची अञ्चल अस्पतालमा चेकजाँचका लागि जाने बिरामीलाई अस्पतालका चिकित्सकले डेंगु रोग परीक्षणका लागि नजिकै रहेको क्षयरोग संस्थामा खोलिएको जनस्वास्थ्यको ल्यावमा पठाउने गरेको छ । तर, तीन दिनदेखि जनस्वास्थ्यकै ल्यावमा कीट छैन ।

अस्पतालका चिकित्सकले दिनमा ३० देखि ४० जना बिरामीलाई डेंगु परीक्षणका लागि ल्यावमा पठाउने गरेको जनस्वास्थ्यका ल्याव टेक्निसियन चन्द्रशेखर यादवले बताए ।

झापामा ५१३ जना डेंगु रोग लागेका बिरामी फेला परिसकेका छन् भने अर्जुनधारामा एकजनाको मृत्यु भइसकेको जनस्वास्थ्यले जनाएको छ । डेंगु रोग फैलिन नदिन अहिले झापाका प्रत्येक नगर तथा गाउँपालिकाले धुवाँ छर्किने अभियान सञ्चालन गरिरहेको छ ।