राजनीति

आफ्नै नेताहरुले यसरी संकटमा पार्दैछन् वाम गठबन्धनलाई

काठमाण्डौ । चुनावी माहोल तात्दै जाँदा मुलुकका ठुला पार्टीहरुका उम्मेद्वारहरुलाई आफ्नै पार्टीका बागी उम्मेद्वारहरुले संकटमा पार्न सक्ने अवस्था देखिदै गएको छ । एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका सबै पार्टीहरुका उम्मेद्वारहरुको विरुद्धमा आफ्नै पार्टीका वागी उम्मेद्वारले संकटमा पार्ने देखिएको हो ।

एमालेले वामपन्थी गठबन्धनका उम्मेद्वारविरुद्ध स्वतन्त्र उम्मेद्वारी दिएका नेता–कार्यकर्ता सबैलाई तत्काल आ–आफ्नो उम्मेद्वारी फिर्ता लिन निर्देशन दिएपनि उनीहरुले फिर्ता लिएका छैनन् ।

एमालेले वागी उम्मेद्वारी फिर्ता नलिने उम्मेद्वारहरुलाई हदै सम्मको कार्वाही गर्ने बताइसकेको छ । वामगठबन्धन विरुद्ध अहिलेसम्म काठमाण्डौ, भक्तपुर, बारा, मोरङ, सर्लाही, उदयपुर, सिन्धुली लगायतका जिल्लामा बागी उम्मेद्वारी परेको जनाइएको छ । यसले बाम गठबन्धनलाई नै संकट पार्न सक्ने बताइएको छ ।

यस्ता छन् बाम गठबन्धनविरुद्ध वागी उम्मेद्वारी दिने उम्मेद्वारहरु

उदयपुर– यो जिल्लामा एमालेका पोलिटब्यूरो सदस्य जगन्नाथ खतिवडानै बागी उम्मेद्वार बनेका छन् । उनी टिकट वितरण र  सिट भागबण्डामा असन्तुष्टि जनाउँदै उक्त निर्णयमा पुगेको जनाइएको छ । उनी माओवादी उम्मेद्वार सुरेशकुमार राईविरुद्ध वागी उठेका हुन् ।

खतिवडा माधव नेपाल पक्षका नेता हुन् । त्यस्तै सोही जिल्लाको १ नम्बर क्षेत्र (क)मा पनि कुशलबाबु बस्नेत बागी उम्मेद्वारमा उठेका छन् ।
मोरङ– जिल्लाको ३ नम्बर क्षेत्रमा एमालेका पुराना र स्थापित नेता डीपी राई वागी उठेका छन् ।

सिन्धुली– जिल्लाको क्षेत्र नम्बर १ मा एमालेका जिल्ला नेता रामकुमार कार्की बागी उम्मेद्वार उठेका छन् । उनी गणेश पहाडी विरुद्ध बागी उठेका हुन् ।

भक्तपुर–भक्तपुर क्षेत्र नम्बर १ मा एमाले जिल्ला सचिव हरिशरण लामिछाने बागी उम्मेद्वार उठेका छन् ।

काठमाण्डौ– जिल्लाको क्षेत्र नम्बर २ मा एमालेका बरिष्ठ नेता माधव नेपालविरुद्ध जिल्ला कमिटी सदस्य पिएल श्रेष्ठ बागी उम्मेद्वार उठेका छन् । त्यस्तै काठमाण्डौकै ७ नम्बर क्षेत्रको (क) मा श्याम घिमिरे पनि बागी उम्मेद्वारको रुपमा उठेका छन् ।

बारा–जिल्लाको क्षेत्र नम्बर ३ को (क) मा जिल्ला नेता भरत खड्का बागी उम्मेद्वार उठेका छन् ।

सर्लाही– सर्लाही क्षेत्र नम्बर १ (ख) मा एमालेका जिल्ला सचिव बेची लुंगेलीबिरुद्ध गोविन्द अधिकारी बागी उम्मेद्वार उठेका छन् ।

त्यस्तै दोलखामा एमालेका पुराना नेता लालकुमार केसी उम्मेद्वारी दर्ता गर्ने दिन मालेमा प्रवेश गरी प्रदेश (ख) मा उम्मेद्वारी दिएका छन्, जसले एमाले पोलिटब्यूरो सदस्य पशुपति चौलागाईमाथि चूनौती थपिदिएका छन् ।

केसी पार्टीनै परित्याग गरेर माले भए पनि उनले एमालेकै आवरणमा मत मागिरहेका छन् । त्यस्तै रुपन्देही लगायतका जिल्लाहरुमा पनि एमालेका बागी उम्मेद्वारहरु उठिरहेका छन् ।