अन्तर्राष्ट्रिय

क्याटालन नेताविरुद्ध वारेन्ट पूर्जी जारी

एजेन्सी । स्पेनको एक अदालतले बर्खास्त क्याटालन नेता कार्लेस पुइग्डमोन्ट विरुद्ध प्रक्राउ वारेन्ट जारी गरेको छ । स्पेनको राजधानी मड्रिडमा रहेको उच्च अदालतले नेता पुइग्डमोन्टसहित बेल्जियम गएका उनका अरु चार सहयोगी विरुद्ध युरोपियन पक्राउ एरेस्ट वारेन्ट (इएडब्लु)जारी गरेको हो ।

बर्खास्त भएका क्याटालन नेता पुइग्डमोन्टलाई अदालतमा उपस्थित हुन भनिएको थियो । तर उनी बिहीबार अदालतमा उपस्थित नभएका कारण उनी विरुद्ध पक्राउ वारेन्ट जारी गरिएको हो । स्पेन सरकारले बिहीबार क्याटालोनिया क्षेत्रीय सरकार ९ जनालाई पक्राउ गरेको थियो । त्यसमध्ये एकजना ५० हजार युरो धरौटी बुझाएर रिहा भएका छन् ।

स्पेन सरकारले नेता पुइग्डमोन्टसहितका क्याटालोनिया स्वतन्त्रताको पक्षमा रहेको क्षेत्रीय सरकारका अधिकारीमाथि विद्रोह, नागरिकलाई भड्काउने तथा सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको आरोप लगाएको छ । अहिले बेल्जियममा रहनु भएका नेता पुइग्डमोन्टले निष्पक्ष सुनुवाई हुने ग्यारेन्टी नभएसम्म स्पेन नर्फकने बताएका छन् ।

युरोपियन एरेस्ट वारेन्ट जारी भएकाले बेल्जियमले वारेन्टको अध्ययन गर्ने समाचार संस्था एएफपीले जनाएको छ । स्पेनबाट स्वतन्त्र हुन चाहेको क्याटालोनियामा गएको अक्टोबरमा जनमतसंग्रह भएपछि विवाद चुलिएको थियो ।

स्पेनको संवैधानिक अदालतले अवैध भनेको जनमतसंग्रहमा स्वतन्त्रताको पक्षमा मत आएको दाबी गरिएको थियो । त्यसपछि क्याटालोनियाको स्थानीय सरकारले स्वतन्त्रता सम्बन्धी प्रस्ताव पारित गरेको थियो । त्यसको केही दिनपछि स्पेन सरकारले क्याटालोनियाको संसद तथा सरकार भंग गर्दै केन्द्र शासन लागू गरेको हो ।