राजनीति

यी उम्मेद्वारहरु, जसले आफैलाई भोट हाल्न पाउँदैनन्

काठमाण्डौ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनेका केही उम्मेदवारहरुले आफैंलाई भोट हाल्न पाउँदैनन् । आफ्नो मतदाता नामावली नै नरहेको स्थानबाट उम्मेदवार बनेकाले ती उम्मेदवारले आफैंलाई भोट हाल्न नपाउने भएका हुन् ।

दाङ छाडेर दोस्रो संविधान सभा निर्वाचन, २०७० मा रोल्पाबाट उम्मेदवार भई विजयी भएका माओवादी नेता कृष्णबहादुर महरा अहिले दाङ क्षेत्र नं। २ मा उम्मेदवार बनेका छन् । तर, उनले आफूले आफैंलाई भोट हाल्न पाउने छैनन् । उनी दाङका नभई रोल्पाका मतदाता हुन् । १७४३२६२५ मतदाता नम्बर भएका महरा रोल्पा नगरपालिका–१ का मतदाता हुन् ।

महरालाई रोकेर दाङ २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने योजनामा थिए, एमाले नेता शंकर पोखरेल । महरालाई पाहुना उम्मेदवार भनेर विरोध गरेका उनी आफैं पाहुना उम्मेदवार बन्न पुगेका छन् ।

शनिबारको नागरिकमा समाचार लेखिएको छ, आफ्नो क्षेत्रबाट महराले प्रतिनिधिसभा सदस्य टिकट पाएपछि प्रदेशसभा सदस्य उम्मेदवार बन्न अर्को क्षेत्रमा गएका छन् । उनले अब आफूले आफैंलाई मत दिन पाउने छैनन् । पोख्रेल र महरा त प्रतिनिधिपात्र मात्र हुन् । एमाले नेता प्रकाश ज्वाला, माओवादीका झक्कु सुवेदीलगायत नेताले पनि आफूलाई भोट हाल्न पाउने छैनन् ।