स्वास्थ्य

अस्पतालमा ३३ प्रतिशत दुर्घटना चिकित्सकको लापर्वाहीले

काठमाण्डौ । नेपालमा उपचारका क्रममा हुने लापरबाहीमध्ये ३३.३३ प्रतिशत चिकित्सकका कारण हुने गरेको पाइएको छ । स्वास्थ्य मन्त्रालयद्वारा गठित प्रा।डा। हरिहर वस्तीको संयोजकत्वको कार्यदलले तयार पारेको प्रतिवेदनमा एकतिहाइ लापरबाही चिरफार गर्दा अर्थात् सर्जिकल ट्रिटमेन्टको अवस्थामा हुने उल्लेख छ ।

अस्पतालमा हुलदंगा बढ्न थालेपछि सरकारले चरम लापरबाहीका कारण बिरामीको मृत्यु वा अंगभंग भएमा घटनाको स्वतन्त्र अनुसन्धान, छानबिन र क्षतिपूर्तिलगायत आवश्यक विषयलाई व्यवस्थित गर्ने कानुन बनाउन १ असोजमा स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो ।

निर्देशनलगत्तै देशभरका चिकित्सकहरू आन्दोलनमा आएपछि निर्णयको एक सातापछि ८ असोज २०७४ को मन्त्रीस्तरीय निर्णयअनुसार नेपाल चिकित्सक संघको आन्दोलनसम्बन्धी मन्त्रिपरिषद्बाट प्राप्त निर्देशनलाई कार्यान्वयन गर्ने विषयमा राय सुझाबसहित प्रतिवेदन पेस गर्नु भन्ने निर्णयअनुसार प्रा.डा.वस्तीको संयोजकत्वमा एक कार्यदल गठन भएको थियो । शनिबारको नयाँ पत्रिकामा लेखिएको छ, प्रतिवेदनले विगत १० वर्षअघिदेखिका रिपोर्ट, मुद्दा र घटनाका आधारमा एकतिहाइ घटना लापरबाहीका कारण भएको देखाएको छ ।

अध्ययन खर्च उठाउन लापरबाही

कार्यदल सदस्य डा।रमेश पराजुलीका अनुसार प्रतिवेदनमा उपचारका क्रममा चिकित्सकले अत्यधिक मात्रामा लापरबाही गर्ने गरेको उल्लेख छ । लापरबाहीका घटना धेरै भए पनि तथ्यांकगत रूपमा जुटाउन कठिन भएको उनले बताए । ‘सुरुमा हामीले २६ वटा केस अध्ययन गरेका थियौँ,’ उनले भने, ‘त्यसमा ३३.३३ प्रतिशत चिकित्सको लापरबाहीले घटना भएको फेला पारेका छौँ ।

अदालतमा परेका केस, अस्पताल घटना र विभिन्न निकायले गरेको अनुसन्धानलाई आधार मान्दा यस्तो देखिएको हो ।’ सबैलाई पैसा कमाउनुपर्ने भएकाले पनि घटना धेरै गरेको डा। पराजुलीले बताए । उनले टिभी भएका बिरामीलाई पैसा कमाउने नाममा केमो चलाएका घटना पनि फेला परेको स्पष्ट पारे । ‘स्वास्थ्य सेवा नाफामुखी बन्दै गएको छ,’ पराजुलीले भने, ‘लाखौँ रुपैयाँ बढी पैसा तिरेर अध्ययन गर्ने र त्यसको सावा ब्याज उठाउने नाममा लापरबाही गरी सेवा दिने गरेको पाइयो । चिकित्सकले भयरहित वातावरणमा काम गर्नुपर्छ, राम्रो उपचार गर्दा गर्दै बिरामीको मृत्यु भएमा चिकित्सकलाई दोष लगाउन पाइँदैन ।’

के हो चिकित्सकीय लापरबाही ?

बिरामीप्रति निर्वाह गर्नुपर्ने कर्तव्य पूरा नगरेको अवस्थालाई चिकित्सकीय लापरबाही मानिन्छ । आफ्नो जिम्मेवारी पूरा नगरेमा बिरामीलाई कुनै पनि शारीरिक, मानसिक, आर्थिक रूपमा क्षति पुग्न गएको अवस्थालाई चिकित्सकीय लापरबाही मानिन्छ । लापरबाही ठहरिन चिकित्सकको कर्तव्य कानुनद्वारा निर्दिष्ट हुनुपर्छ, कर्तव्य उल्लंघन गरेको प्रमाण मेडिकल रेकर्ड वा ट्रिटमेन्ट रेकर्डसमेतबाट देखिनुपर्छ ।

उल्लंघनले बिरामीलाई केही न केही क्षति (मृत्यु-अंगभंग-अन्य शारीरिक नोक्सानी वा आर्थिक हानि) पुगेको हुनुपर्छ । यस्तो भएको अवस्थामा उपचारमा संलग्न स्वास्थ्यकर्मी नै जवाफदेही हुन्छ ।