राजनीति

वाम गठबन्धन हुनु अधिनायकवादको संकेत, पौडेलले दिए जोशीबिरुद्ध उजुरी

दमौली, तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धन हुनु अधिनायकवादको संकेत भएको बताएका छन् ।

आज तनहुँको डुम्रे बजारमा कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले सो कुरा बताएका हुन्।

“कम्युनिष्टले एकात्मक राज्य ल्याउन चाहेका छन्”– पौडेलले भने । व्यक्तिगत स्वतन्त्रता, पेशा, व्यवसाय गरेर खान नदिनेलगायत सबै राज्य कब्जामा लिने जस्तो कम्युनिष्ट शासन चाहिँदैन भनेर संसारभरि फेल खाएको अवस्थामा तानाशाह वाम एकता घोषणा राष्ट्रका लागि खतरनाक भएको उनको भनाइ छ ।

पौडेलद्वारा जोशीविरुद्ध उजुरी

यसैगरी काँग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं २ का उम्मेदवार रामचन्द्र पौडेलले आफूविरुद्ध बागी उम्मेदवार दिएका काँग्रेस नेता गोविन्दराज जोशीको उम्मेदवारी रद्दको माग गर्दै आज उजुरी दिएका छन् ।

पौडेलले तनहुँ जिल्ला अदालतस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा स्वयं उपस्थित भई उजुरी दिएको हो । पौडेलले जोशीको उम्मेदवारी रद्दको माग गर्दै उजुरी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जोशीको भ्रष्टाचारसम्बन्धी मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेकाबेला आफैँविरुद्ध बागी उम्मेदवारका रुपमा उम्मेदवारी परेपछि रद्दको माग गर्दै पौडेलले उजुरी दिएको बताइएको छ । पौडेलले जोशीको उम्मेदवारी रद्द हुनुपर्नेसहितको निवेदन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत नायब सुब्बा शिव पौडेलले बताए ।

जोशीलाई विशेष अदालतले विसं २०६९ साउन १० मा भ्रष्टाचारी ठहर गर्दै चार करोड ३२ लाख बिगो र जरिवाना तथा डेढ वर्ष कैद हुने फैसला गरेको थियो ।