अन्तर्राष्ट्रिय

मन्त्रीहरुलाई थुनामा राखेको विरोधमा क्याटलनहरुको विशाल प्रदर्शन

एजेन्सी । स्पेनबाट क्याटलोनियाको स्वतन्त्रताका लागि दबाब दिएर बर्खास्त भएका ८ जना क्षेत्रीय मन्त्रीहरुलाई थुनामा राखेको विरोधमा हजारौं क्याटलनहरु सडकमा उत्रिएका छन्। स्पेनको उच्च अदालतमा उपस्थित भएका ती मन्त्रीहरुमाथि सार्वजनिक सम्पत्तिको हिनामिना गरेको आरोप लगाइएको छ।

स्पेनी न्यायाधीश कारमेन लामेलाले ती मन्त्रीहरुले देश छोड्न वा प्रमाणहरु नष्ट गर्नसक्ने भन्दै उनीहरुलाई थुनामा राख्न आदेश दिएका थिए। अभियोजनकर्ताहरुले उनीहरुमाथि स्पेनबाट क्याटलोनिया छुट्याउने प्रयास गरेर देशद्रोह गरेको आरोप लगाएका छन्।

स्पेनबाट स्वतन्त्र हुनका लागि गत अक्टोबर १ मा भएको जनमत संग्रह यता स्पेन संवैधानिक संकटबाट गुज्रिरहेको छ। उक्त जनमत संग्रहलाई त्यहाँको संवैधानिक अदालतले गैरकानुनी भनेको थियो।

गत साता स्पेनका प्रधानमन्त्री मारिआनो राखोयले क्याटलोनियाको क्षेत्रीय संसद विघटन गरेर त्यहाँ प्रत्यक्ष शासन लागू गरेका थिए।
उनले डिसेम्बर २१ तारिखमा त्यहाँ स्थानीय निर्वाचनको आह्वान समेत गरेका छन्।