सूचना प्रविधि

टेलिफोनको समस्याले स्थानीयवासी हैरान

जाजरकोट । यहाँका नगरपालिका र गाउँपालिकामा टेलिफोन सेवा प्रभावकारी नहुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन् ।

बिहान १० बजे टेलिफोन टावर आउने र ४ बजे टावर जाने हुँदा त्यसपछिका समय फोन सञ्चालन नहुने स्थानीयवासीको गुनासो छ । जिल्लाका त्रिवेणी नलगाड नगरपालिका, वारेकाट गाउँपालिका, कुशे गाउँपालिका, छेडागाड नगरपालिका, शिवालय गाउँपालिका र कुशेगाउँपालिकामा टेलिफोन टावरमा समस्या हुँदै आएको हो । टावर सञ्चालन गर्नका लागि राखिएका सौर्य उर्जाले प्रभावकारी काम नगर्दा दैनिक घाम लागेपछि मात्र टावर सञ्चालनमा आउने गरेको हो ।

टावरमा राखिएका सौर्य उर्जा वषौं पुराना भएको र मर्मत पनि नहुँदा टावर सञ्चालनमा कठिनाइ भएपछि स्थानीयवासीले पटक पटक नेपाल टेलिकमलाई जानकारी गराए पनि सुनुवाइ नभएको आरोप लगाएका छन् । काम परेको समयमा टावर नहुँदा दैनिक काम गर्न समस्या भएको त्रिवेणी नलगाड नपा–८ का हरिबहादुर खत्रीले बताए ।