राजनीति

सुर्खेतमा यस्तो छ दलहरुको प्रतिष्पर्धा

सुर्खेत । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रमुख राजनीतिक दलले उम्मेदवारको टुंगो लगाएका छन् ।

प्रतिनिधिसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको सुर्खेतमा नेपाली काँग्रेसले क्षेत्र नं १ बाट पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का र क्षेत्र नं २ बाट हृदयराम थानीलाई उम्मेदवार बनाएको छ ।

यस्तै वाम गठबन्धनले पनि उम्मेदवारको टुंगो लगाएको छ । प्रतिनिधिसभाका दुई वटै क्षेत्रमा नेकपा (एमाले) ले उम्मेदवारी दिने भएको छ भने प्रदेशसभाका चारमध्ये दुई क्षेत्रमा एमाले र दुई क्षेत्रमा नेकपा (माओवादी केन्द्र)ले उम्मेदवारी दिनेछ ।

वाम गठबन्धनले क्षेत्र नं १ बाट एमाले पार्टी अध्यक्ष ध्रुवकुमार शाहीलाई उम्मेदवार बनाएको छ भने क्षेत्र नं २ बाट एमालेकै पूर्व अध्यक्ष नवराज रावतलाई उम्मेदवार बनाएको छ ।

काँग्रेसले प्रदेशसभाका लागि क्षेत्र नं १ को ‘क’ बाट निर्वतमान सांसद लालबहादुर घले, ‘ख’ बाट झकबहादुर डाँगीलाई उम्मेदवार बनाएको छ भने क्षेत्र नं २ को ‘क’ बाट पार्टी सभापति कमलराज रेग्मी र ‘ख’ बाट सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टलाई उम्मेदवार बनाएको छ ।

वाम गठबन्धनका तर्फबाट एमालेले क्षेत्र नं १ को ‘ख’ बाट खड्क खत्री र क्षेत्र नं २ को ‘क’ बाट पूर्वमन्त्री एवं पोलिटब्यूरो सदस्य यामलाल कँडेललाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले क्षेत्र नं १ को ‘क’ बाट ठम्मर विष्ट र क्षेत्र नं २ को ‘ख’ बाट विन्दमान विष्टलाई उम्मेदवार बनाएको छ ।