राजनीति

भोजपुरको भएपनि बाँकी जिबन सुनसरीमा लगाउछु : अर्थमन्त्री कार्की

इनरुवा । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले काँग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो हुने बताएका छन् । सुनसरी सदरमुकाम इनरुवामा आज बिहान पत्रकारहरुसंग कुराकानी गर्दै मन्त्री कार्कीले सो कुरा बताएका हुन्

मन्त्री कार्कीले लोकतन्त्रलाई समाप्त पार्नका लागि विभिन्न राजनीतिक दलहरु लागिपरेकाले अब सबै प्रजातान्त्रिक शक्ति मिलेर त्यसलाई परास्त गर्नका लागि एक ढिक्क भएर लाग्नुपर्नेमा जोड दिए ।

मन्त्री कार्कीले सबै प्रजातान्त्रिक शक्ति एक भएर लागे सुनसरीका प्रतिनिधि सभातर्फ चार सिट र प्रदेश सभातर्फ आठ सिट गरी जम्मा १२ सिटमा नेपाली काँग्रेसको जित निश्चित रहेको दाबी गरे । उनले काँग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुने बताउदै यसको रक्षा गर्नका लागि सबैले एक ढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

मन्त्री कार्कीले वाम गठबन्धनले देशमा कम्युनिष्ट तानाशाह ल्याउन खोजेको समेत दाबी गरे । उनी प्रतिनिधि सभातर्फ नेपाली काँग्रेसका तर्फबाट प्रत्यक्षमा उम्मेदवारी दिनका लागि सुनसरी आएका हुन् ।

फरक प्रसंगमा बोल्दै मन्त्री कार्कीले सुनसरी क्षेत्र नम्बर ४ को विकासका लागि आफू अहोरात्र काम गर्ने बताएका छन् । । उनले आफू भोजपुरबासी भएपनि अबको आफ्नो बाँकी राजनीतिक जीवन सुनसरीका लागि खर्च गर्नेसमेत उद्घोष गरे।

सुनसरीको क्षेत्र नम्बर ४ विकासको हिसाबले निकै पछाडि रहेका कारण अब त्यहाँको विकास गर्ने जिम्मा आफ्नो काँधमा आएको बताए । मन्त्री कार्कीले उक्त क्षेत्रका समस्याको पहिचान आफूले गरिसकेका कारण त्यसको समाधानका लागि काम गर्ने समेत बताए ।

मन्त्री कार्कीले सो क्षेत्रमा रहेको सडक समस्या, सिँचाइ, बन्यजन्तु आरक्षलगायतको समस्याको पहिचान गरिसकेका कारण त्यसलाई समाधान गर्नका लागि आफूले मन्त्रालयबाट विशेष कार्यक्रम ल्याउनेसमेत दाबी गरे ।