खेलकुद

म्यानचेस्टर सिटीको शानदार जित

एजेन्सी ।  इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । समूह ‘एफ’ अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले इटालियन क्लब नापोलीलाई ४–२ ले हराएको हो । सिटीको जितमा  निकोलास ओटामेन्डी, जोन स्टोन्स, सर्जियो अग्युरो र रहिम स्ट्रर्लिङले गोल गरे ।

नापोलीका लागि इनसिग्ने र फ्रेल्लो फिल्होले गोल गरे । खेलमा सुरुवाति अग्रता भने नापोलीले २१ औं मिनेटमा इनसिग्नेको गोलबाट लिएको थियो । ३४ औं  मिनेटमा ओटामेन्डीले सिटीका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफमा १–१ बराबरी भएको खेलमा दोस्रो हाफमा भने सिटीले तीन गोल गर्‍यो । ४८ औं मिनेटमा स्टोन्सले गोल गर्दै सिटीलाई अग्रता दिलाए । तर ६२ औं मिनेटमा फिल्होले पेनाल्टीमार्फत गोल गर्दै बराबरी गरे । त्यसको एक मिनेटपछि नै अग्युरोले गोल गर्दै सिटीलाई फेरि अग्रता दिलाए । इन्जुरी समयमा  स्ट्रर्लिङले गोल गरेपछि पेप गार्डिवलाको टिम सिटी ४–२ विजयी भयो ।

यो खेलमा गोल गरेका अग्युरो म्यानचेस्टर सिटीका सर्वकालिन सर्वाधिक गोलकर्ता भएका छन् । उनले सिटीका लागि दुई सय ६४ खेलमा एक सय ७८ गोल गरेका छन् । यहि  समूहको खेलमा शाख्तर डोनेस्कले फेयीनूर्डलाई ३–१ ले हरायो ।

समूह चरणका अहिलेसम्म भएका सबै चार खेल जितेको समूह चरणका अहिलेसम्म भएका सबै चार खेल जितेको म्यानचेस्टर सिटीको १२ अंक भएको छ । ९ अंकसहित शाख्तर डोनेस्क दोस्रो स्थानमा छ ।