स्वास्थ्य

सर्पदंशको औषधि नहुँदा बिरामीले अकालमा नै ज्यान गुमाउनुपर्छ

तेह्रथुम । घाँस काट्न जाँदा सर्पले टोकेपछि गत साता जिरिखिम्तीकी देवीमाया कार्की जिल्ला अस्पताल गए । तर अस्पतालमा भर्ना भएर औषधि लगाउनुभन्दा पहिल्यै स्वास्थ्यकर्मीले यसको उपचार यहाँ हुंदैन भनिदिए ।

उपचारका लागि अस्पतालले सुविधासम्पन्न अस्पताल जान सिफारिश गरेपनि आर्थिक अवस्था कमजोर भएकाहरु जिल्ला बाहिर जान सक्दैनन् । उनले पनि त्यही कुरा अनुरोध गरे ।

अन्ततः स्वास्थ्यकर्मीको निकै लामो गन्थनपछि उहाँको घाउमा औषधि त लगाइने भयो, तर औषधि लगाउनुअघि “केही भए म आफैँ जिम्मेवारी हुनेछु” भन्ने कागजमा हस्ताक्षर गरेपछि मात्र ।

चोट ठूलै देखिए पनि सर्प त्यति विषालु नपर्दा कार्कीले हस्ताक्षर गरेको कागजमा लेखिएजस्तो दुर्गती भोग्न परेन । जिल्ला अस्पतालको सामान्य उपचारले नै उनलाई ठीक भयो । चार दिन अस्पताल बसेर घर फर्किन लाग्दा उनले भने, “सर्पले टोकेपछि अस्पताल आउँदा डाक्टरले नै त्यसो भनिदिएपछि मेरो त बाँच्ने आसै मरेको थियो ।”

कार्कीजस्तै जिल्ला अस्पताल आउने धेरैले यस्तै त्रास भोग्नुपर्छ । जिल्ला अस्पताल र मातहतका अरु स्वास्थ्य संस्था र छिमेकका जिल्ला अस्पतालमा समेत सर्पदंशको उपचार गर्ने औषधि नहुँदा बिरामीलाई यस्तो व्यवहार गर्न परेको स्वास्थ्यकर्मी बताउँछन् । जिल्ला अस्पतालमा सर्पदंशका बिरामी आइरहने गरेपनि औषधि नहुँदा समस्या भएको अस्पताल स्रोतले बतायो ।

सर्पदंश जस्तै विषालु च्याउ खाएर हुने बिरामीको उपचारका लागि पनि जिल्ला अस्पतालमा औषधि छैन । विषालु सर्प पहाडी जिल्लामा नपाइने भनिए पनि पछिल्ला वर्षमा सर्पको टोकाइबाट ज्यान जान थालेको छ । विषालु च्याउ खाएर पनि गत वर्ष एक वृद्धाको ज्यान गयो । तीन महिनाअघि नौजना बिरामी परेकाहरुले धरान गएर उपचार गराए ।

जिल्ला अस्पतालमा पटकपटक औषधि माग गरेपनि सर्पदंशको औषधि देशैभरिका अस्पतालमा अभाव हुने र अझ पहाडी जिल्लामा त पठाउँदै नपठाउने गरेको अस्पतालका प्रमुख डा मुक्तनारायण शाहले बताए ।

अस्पतालले औषधि माग गरे पनि पठाउँदैनन्, डा शाहले भने, “त्यसैले हामी बिरामीको उपचार यहाँ गराउन सक्दैनौँ, सामान्य उपचारले पनि नतिजा खतरा ल्याउन सक्छ भनेर बिरामीलाई त्यस्तो हस्ताक्षर गराउनुपरेको हो ।”