राजनीति

मुलुक राजनीतिक संक्रमणको अन्त्यतिर आइपुगेको छ–प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले लामो राजनीतिक संघर्षपछि नेपाल संविधानको निर्माण र कार्यन्वयनसँगै नयाँ युगमा प्रवेश गरेको बताएका छन् ।

आज एक अपिल जारी गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको तथा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको प्रक्रियासमेत सुरु भइसकेर मुलुक अब लामो राजनीतिक संक्रमणको अन्त्यतिर आइपुगेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री देउवाले अहिले समग्र देश प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको उत्सवमा रहेको उल्लेख गर्दै मंसिर १० र २१ गते हुने निर्वाचनपछि संविधान कार्यान्वयनको राजनीतिक कार्यसूची पूरा हुने अपिलमा उल्लेख छ ।

“संक्रमणकालको अन्त्यपछि अब नेपाललाई विकासको नयाँ युगमा प्रवेश गराउनुपर्ने चुनौती हाम्रासामु छ । आर्थिक समृद्धिलाई राष्ट्रिय एजेण्डा बनाएर मुलुकलाई केही वर्षमै आर्थिक विकासमा निर्णायक बाटोतर्फ उन्मुख गराउनु हामी सबै लोकतन्त्रवादीहरुको साझा ध्येय हो”अपिलमा भनिएको छ ।

लोकतान्त्रिक शासन पद्धतिको सुदृढीकरण र दु्रतगतिको आर्थिक विकास पहिलो प्राथमिकताको विषय भएकाले बताउँदै उनले लोकतन्त्रवादी शक्ति फेरि एक हुनुपर्ने समय आएको बताएका छन् ।

उच्च दरको आर्थिक वृद्धि, समावेशी विकास, पूर्वाधार निर्माण, गरिबी निवारण र रोजगारीमा प्रत्यक्ष योगदान पु¥याउने एवं विकास कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्ने बृहत्तर सोच रहेको बताउँदै अपिलमा उनले यसका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल विश्वमै लगानीमैत्री वातावरण भएको मुलुकका रुपमा स्थापित गर्नुपर्ने चुनौती रहेको उल्लेख गरेका छन्।