राजनीति

एमाले र बिजुक्छेबीच तालमेलभ भएपछि भक्तपुरका दुबै क्षेत्र यसरी जाँदैछ काँग्रेसका पोल्टामा

भक्तपुर । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनले भक्तपुरमा उम्मेदवारी नदिई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेका लागि छाड्ने भएपछि एमालेमा असन्तुष्टि बढेको छ ।

यसअघिका प्रत्येक निर्वाचनमा एमालेले उम्मेदवारी दिँदै आएको र स्थानीय तह निर्वाचनमा विजयी हासिल गरेको क्षेत्रमा समेत उम्मेदवारी नदिने एमालेले निर्णय गरेको भन्दै एमालेभित्र असन्तुष्ट बढेको हो ।

वाम गठबन्धनले भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभातर्फ नेमकिपाका अध्यक्ष बिजुक्छेको उच्च मूल्याँकन गर्दै उनका विरुद्ध उम्मेदवारी नउठाउने निर्णय गरेको भन्दै यसलाई तत्काल सच्याएर उम्मेदवार बनाउन एमाले भक्तपुरले माग गरेको छ ।

यस क्षेत्रमा एमाले जिल्ला कमिटीले प्रतिनिधिसभा प्रत्यक्षतर्फ प्रेमकुमार श्रेष्ठ, कृष्णराम गेलाल र नारायणी दंगालको नाम सिफारिश गरेको र एमालेको मजबुद रहेको क्षेत्रमा नेमकिपालाई छाड्ने निर्णय अमान्य भएकाले उम्मेदवारी दिन माग गरेको एमाले नेता दामोदर दंगालले बताए ।

एमाले निर्वाचन क्षेत्रीय कमिटीका संयोजक मोहनवीर श्रेष्ठ र सचिव शम्भु दंगालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भक्तपुरको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ बिजुक्छेलाई छाड्ने निर्णय सच्याउन माग गर्दै उम्मेदवारी दिन माग गरेको छ ।

एमाले भक्तपुर जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले भक्तपुर क्षेत्र नं १ मा बिजुक्छेलाई छाड्ने र एमालेले उम्मेदवारी नदिने भन्ने निर्णयबाट आफूलाई जानकारी नभएको बताए । उनले भने, “भक्तपुर क्षेत्र नं १ मा प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारका लागि नाम सिफारिश गरेर जिल्लाले पठाएको छ, केन्द्रीय तहमा के निर्णय भयो, मलाई थाहा छैन र पार्टी जिल्ला कमिटीलाई जानकारी पनि आएको छैन ।”

एमालेले निर्वाचन क्षेत्र नं २ को प्रदेश नं २ -ख) मा पनि आफ्नो उम्मेदवार नउठाउने भएको छ । एमाले स्रोतका अनुसार स्थानीय तह निर्वाचनमा एमालेले नगरप्रमुख विजयी भएको मध्यपुरथिमि नगरपालिका रहेको उक्त क्षेत्रमा आफ्नो उम्मेदवार नउठाउने भएसँगै एमाले थिमिका नेता कार्यकर्ता असन्तुष्ट भएका छन् ।

यस प्रदेशमा वाम गठबन्धनअनुरुप एमालेले माओवादी केन्द्रका लागि छाडेपछि एमाले नेता कार्यकर्ता असन्तुष्ट जाहेर गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा गएको बताएका छन् । यस प्रदेशमा एमालेले पार्टी उपाध्यक्ष बचन देउजाको नाम सर्वसम्मत सिफारिश गरेको थियो ।

एमालेले निर्वाचन क्षेत्र नं १ को प्रदेश नं १ (क) मा प्रत्यक्षतर्फ नगर कमिटीले सर्वसम्मत हरिशरण लामिछाने, निर्वाचन क्षेत्र नं १ प्रदेश क्षेत्र नं २ (ख) मा भने प्रत्यक्षतर्फ रोमन शिलाकारको नाम सिफारिश गरेको थियो ।

निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ पूर्वउद्योग मन्त्री महेश बस्नेतको नाम सर्वसम्मत सिफारिश गरेको छ भने निर्वाचन क्षेत्र नं २ को प्रदेश नं १ मा भने प्रत्यक्षतर्फ पार्टी अध्यक्ष राजेन्द्र राजथला र शशिजंग थापाको नाम सिफारिश गरेको थियो ।
एमालेले नेमकिपासंग तालमेल गरे भक्तपुरका प्रभाबशाली कार्यकर्ताले काँग्रेसलाई सहयोग गर्ने बताएका छन् । यससंगै काँग्रेसको बिजयहुनसक्ने अनुमान लगाईन्छ ।