राजनीति

शान्ति सम्झौताको मर्म विपरित ढुंगेल पक्राउ भएकोमा माओबादीको आपत्ति

काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनयुद्धकालीन मुद्दाको नाममा माओवादी नेता बालकृष्ण ढुंगेललाई गिरफ्तारपछि जेल चलान गरिएको घटनालाई शान्ति सम्झौताको मर्म विपरितको काम भएको जनाएको छ ।

सो पार्टीका महासचिव चन्दद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा क्रान्तिका क्रममा भएका घटनालाई व्यक्तिको नाममा अलग गरेर हेर्ने र अपराधीकरण गर्ने विषय नै गलत भएको उल्लेख गरिएको छ ।

नेता ढुंगेलको गिरफ्तारीको भत्सर्ना गरी रिहाइको माग गर्दै विज्ञप्तिमा भनिएको छ, “ढुंगेलको गिरफ्तारीले जनयुद्धलाई साथ दिने र आन्दोलनमा विशेष साथ दिनेलाई स्तब्ध पारेको छ ।”

यस्तै नेकपा (माओवादी केन्द्र)संग आवद्ध वाइसिएल नेपालले पनि शान्ति सम्झौताको मर्म र भावना विपरित गएर नेता ढुंगेललाई पक्राउ गरिनू सर्वथा गलत भएको जनाएको छ ।

वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा र महासचिव सुबोधराज शेर्पालीले मंगलबार संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा जनयुद्धकालीन घटनालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत सम्बोधन गर्नुपर्नेमा व्यक्ति विशेषलाई मात्रै दोषी करार गर्ने प्रवृति हारको उपज भएको उल्लेख छ ।

यस्तै अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले पनि आज एक विज्ञप्तिमार्फत शान्ति प्रक्रियालाई तार्किक निष्र्कषमा पु¥याउन नदिने षड्यन्त्रका साथ नेता ढुंगेललाई पक्राउ गरिएको बताएका छन् ।

वामपन्थी गठबन्धनको सम्भावित विजयबाट अत्तालिएका प्रवृत्तिले चुनाव भाड्ने नियतका साथ उहाँलाई पक्राउ गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।