राजनीति

नारायणकाजीको दिवा स्वप्न, निर्बाचनपछि बामपन्थी सरकार बनाउने रे !

गोरखा । वाम गठबन्धनबाट गोरखा–२ का उम्मेदवार तथा नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन जितेर वामपन्थीको नेतृत्वमा सरकार बनाउँदै देशलाई समृद्धिको दिशामा लगिने बताएका छन् ।

चुनावी घरदैलोका क्रममा आज पालुङटारमा पार्टीको प्रदेशसभा कार्यालय उद्घाटन गर्दै नेता श्रेष्ठले बाह्य हस्तक्षेप सदाका लागि अन्त्य गर्न एमाले र माओवादी केन्द्रबीच गठबन्धन गर्दै एउटै कम्युनिष्ट केन्द्र बनाउने दुई पार्टीबीच निर्णय भएको बताए । कम्युनिष्टहरु थप सशक्त हुन आसन्न चुनावले सहयोग पुग्ने श्रेष्ठको भनाइ छ ।

उनले भने, “समाजवादउन्मुख राज्य खडा गर्ने, देशलाई स्वाधीन बनाउँदै समृद्धिको दिशातर्फ अघि बढाउने, जनताको विकासप्रतिको आशा तथा अपेक्षा पूरा गर्ने र विश्वले देख्ने गरी नमूना समाजवादका आधार खडा गर्न यो चुनाव महत्वपूर्ण हुनेछ ।”

नेता श्रेष्ठले भने, “देशमा कम्युनिष्टहरुको मत दुई तिहाइ छ । कम्युनिष्टहरुकै पक्षमा जनताको समर्थन छ तर नेतृत्व र सरकार भने प्रतिक्रियावादीले चलाइरहेका छन् । गरिबी, बेरोजगारी समस्या समाधान गर्न पनि वामपन्थीको सरकार आवश्यक छ ।”