आर्थिक

काठ अभावमा पुनःनिर्माणमा अवरोध आउन नदिन निर्देशन

काठमाडौँ । काठका कारण पुनःनिर्माणमा अवरोध आउन नदिन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले वन मन्त्रालय र अन्तर्गतका निकायलाई निर्देशन दिएको छ ।

मन्त्रालय, वन विभाग र टिम्बर कर्पोरेशन अफ नेपालका अधिकारीसँग सोमबार भएको छलफलमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले पुनःनिर्माणका लागि सहज रुपमा काठ बिक्री वितरणको व्यवस्था मिलाउन अनुरोध गरे ।

जिल्लामा प्रजिअको अध्यक्षतामा रहने आपूर्ति व्यवस्था समितिलाई सक्रिय बनाउन र भूकम्पप्रभावित जिल्लामा घुम्ती चिरानी मेसिन स्थापना गर्नेलगायत काम तत्काल गर्न पनि उनले मन्त्रालयको ध्यानाकर्षण गराए ।

कार्यक्रममा मन्त्रालयका सहसचिव चन्द्रमान डंगोल, विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य र टिम्बर कर्पोरेशनका महाप्रबन्धक राजु लौडारीले काठकै कारण पुनःनिर्माण प्रभावित हुन नदिने प्रतिबद्धता जनाए ।