राजनीति

काँग्रेस घोषणापत्रमा नयाँ युगको नेतृत्व गर्दै काठमाडौं–मधेस एक्सप्रेस–वे चलाउनेदेखि भोकमरी र भ्रष्टाचार निर्मूल पार्नेसम्म

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले मुलुक पुनःजागरणको नयाँ युगको चरणमा रहेको र यसको नेतृत्व गर्ने जनाएको छ ।

काँग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि तयार पारेको घोषणापत्रमा मुलुक आर्थिक, सामाजिक, राजनीतिकलगायत विषयको पुनःजागरणको नयाँ युगमा प्रवेश गरेको उल्लेख छ ।

काँग्रेसले मुलुकमा लोकतान्त्रिक स्थायित्व र विकासका लागि प्रतिबद्धता व्यक्त गर्दै लोकतन्त्रको संरक्षण, सामाजिक न्याय र आर्थिक समृद्धिका साथै एकीकृत सामाजिक सुरक्षा तथा सुशासन, संघीयताको कार्यान्वयनलगायत विषय समेटिएको घोषणापत्र तयार गरेको घोषणापत्र तयारी समितिका विज्ञ सदस्य डा जगदिशचन्द्र पोखरेलले जानकारी दिए ।

विगत २५ वर्षमा काँग्रेसको नेतृत्वमा मुलुकमा भएका विकासका विवरणसहित उल्लेखित घोषणापत्रमा विद्यालय र कलेजको सहज पहुँच गाउँ गाउँसम्म पुगेको, कालोपत्र सडक विस्तार, उच्च शिक्षा लिने विद्यार्थीको संख्यामा वृद्धि, वाल मृत्युदर घटेको, विद्युत क्षमता बढेको, स्वास्थ्य चौकी र शौचालयको संख्यामा उल्लेख्य वृद्धि भएकोलगायत विषय प्रस्तुत गरिएको छ ।

अबको १० वर्षमा काँग्रेसले देखेको नेपाल भनी घोषणापत्रमा ‘काँग्रेसको विकास दृष्टि र लक्ष्य”सहित विभिन्न बुँदा प्रस्तुत गरेको छ । साथै, पार्टीले काठमाडौं–मधेस एक्सप्रेस–वे चलाउनेदेखि भोकमरी र भ्रष्टाचार निर्मूल पार्नेसम्मका योजना अघि सारेको छ ।

त्यस्तै, नेकपा (एमाले) राष्ट्रिय एकताको बाधक र नेकपा (माओवादी केन्द्र) लाभ खोज्ने अवसरवादी पार्टी भनी घोषणापत्रमा उल्लेख छ । एमालेले मधेस आन्दोलनलाई विखण्डनको आन्दोलन भन्दै अशोभनीय टिप्पणी गरेको र माओवादी केन्द्रमा अस्थिर राजनीतिको लाभ खोज्ने अवसरवादी प्रवृत्ति देखिएको काँग्रेसकोे ठहर छ ।

कम्युनिष्ट गठबन्धन निर्माण गर्ने प्रयासले नयाँ संविधानका उपलब्धि, आर्थिक प्रगति, राष्ट्रिय एकता र सामाजिक सद्भाव जोखिममा परेको काँग्रेसको दाबी छ । एमाले र माओवादी केन्द्रको गठबन्धनले सत्ता नियन्त्रण गर्ने र साम्यवाद स्थापना गर्ने उद्देश्य राखेको ठहर गर्दैै काँग्रेसले त्यस्तो प्रयास कुनै हालतमा स्वीकार्य नहुने दृढता जनाएको छ ।

मधेसकेन्द्रित दलहरु सम्वाद र सहकार्यमा आएको भन्दै स्वागत गरेको काँग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)सँग विश्वसनीय सहकार्य गर्ने उल्लेख गरेको छ ।

काँग्रेसले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्तामा उल्लेख्य वृद्धि गर्ने, प्रत्येक स्थानीय तहमा ज्येष्ठ नागरिक सेवा आश्रम बनाउने र आवास, भोजनदेखि सबै सेवा निःशुल्क उपलब्ध गराउने जनाएको छ ।

समाज र राज्यलाई भ्रष्टाचारमुक्त बनाउन संकल्प गर्दै पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सतर्कता केन्द्रलाई प्रभावकारी बनाउने, भ्रष्टाचारमुक्त समाज बनाउन सामाजिक राजनीतिक अभियान चलाउने वाचा पनि गरेको छ । घोषणापत्रको विस्तृत विवरण मंगलबार विशेष कार्यक्रमसहित सार्वजनिक गर्ने पार्टी कार्यालयले जनाएको छ ।