राजनीति

विचार मिल्ने पार्टीसँग एकता आवश्यक : अध्यक्ष दाहाल

रत्ननगर, चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार मिल्ने पार्टीसँग एकता आवश्यक भएको औँल्याएका छन् ।

पश्चिम चितवनको मेघौलीस्थित सरस्वती मावि, जितपुरको स्वर्ण महोत्सव समारोहको समापनका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् । समुन्नत राष्ट्र निर्माणका लागि पनि विचार मिल्ने पार्टीहरु एक हुनुपर्ने भन्दै अध्यक्ष दाहालले त्यसपछि राष्ट्रमा विकास हुने उल्लेख गरे ।

पार्टी ध्रुवीकरण जरुरी रहेको भन्दै उनले वाम एकतालाई शंका नगर्नसमेत आग्रह गरे । उनले अब स्थायी सरकार भएर विकासका काम अघि बढाउनुपर्नेमा जोड दिए । पश्चिम चितवन पर्यटकीय हिसाबले महत्वपूर्ण रहेको औँल्याउँदै दाहालले जैविक विविधताको संरक्षण, मेघौलीको गोलाघाटमा पुल, राप्ती–नारायणी तटबन्ध र मेघौली विमानस्थलको स्तरोन्नति गर्नु जरुरी रहेको बताए ।

आफ्नो तर्फबाट सहयोग रहने भन्दै उनले त्यसकै निम्ति चितवनको क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिन लागेको समेत बताए ।

सो क्रममा अध्यक्ष दाहालले विद्यालयको स्वर्णस्तम्भको उद्घाटन गरेका थिए । कार्यक्रममा विद्यालयलाई अगाडि बढाउन सहयोग गर्ने विभिन्न व्यक्तिलाई दाहालमार्फत सम्मान गरिएको सरस्वति माविका सल्लाहकार श्याम अधिकारीले जानकारी दिए ।