सूचना प्रविधि

बाधु र बिच्छामा टेलिकमको जिएसएम मोबाइल सेवा

काठमाणडौ । नेपाल टेलिकमले पिछल्लो समयमा बाजुरा जिल्लाको दुई विकट स्थान बाधु र बिच्छामा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । यो भन्दा पहिले यी दुवै स्थानमा कुनै पनि सञ्चार सुविधा उपलब्ध थिएन ।

बाजुराको बाधुमा गत असोज ३१ गते र बिच्छामा कात्तिक ७ गतेदेखि सेवा सञ्चालनमा ल्याइएको हो । बाधुमा जडान गरिएको बिटिएस मार्फत बाजुराको साविकका पाण्डव गुफा, स्वामिकार्तिक र बुढीनन्दा नगरपालिकाको केही भाग, मुगुको सुखाढिक, कोटडाँडा र ह्याग्लु, कालिकोटको पूर्वी भेग, कर्णाली कोरिडोरको केही भेग तथा कोल्टी–रारा पदमार्गमा सेवा उपलब्ध हुनेछ । यसबाट यो क्षेत्रका करिब ४ हजार घरधुरी लाभान्वित हुने बिश्वास टेिलकमले लिएको छ ।

त्यसैगरी बिच्छामा जडान गरिएको बिटिएस मार्फत बाजुराका साविकका बिच्छा, रुगिन, मदना तथा मैला गाविसका करिब ३ हजार घरधुरी लाभान्वित हुने छन् ।

बाजुराको सदरमुकाम मार्तडीबाट बाधु र बिच्छासम्म बिटिएसका सामान पुर्याउनका लागि कठिन भौगोलिक बनावटका कारण केही भागमा ट्रयाक्टर र भरियाको प्रयोग गरिएको थियो । सदरमुकाम मार्तडीबाट बाधु पुग्न करिब दुई दिन र बिच्छा पुग्न करिब चार दिन लाग्छ । सोलार र भिस्याट प्रविधिको प्रयोग गरी बिटिएस टावर सञ्चालनमा ल्याइएको छ ।

नेपाल टेलिकमले सेवा शुभारम्भ गरेको अवसरमा सेवा सञ्चालन गरेकै स्थानमा सहज रुपमा निःशुल्क सिम वितरण समेत गरेको छ । स्थानीय सेवाग्राहीहरु सिम प्राप्त गर्नका लागि दुई÷तीन दिन हिडेर सदरमुकाम मार्तडी आउनु नपरोस् भन्ने उद्देश्यले निःशुल्क सिम वितरण गरिएको हो । आगामी केही समयसम्म निःशुल्क रुपमा सिम उपलब्ध गराउनका लागि गाउँपालिकालाई जिम्मेवारी प्रदान गरिएको छ ।

हालसम्म कुनै पनि किसिमको सञ्चार सेवाबाट बन्चित दुर्गम स्थानहरुमा समेत क्रमशः नेपाल टेलिकमको जिएसएम मोबाइल सेवा सञ्चालन गर्ने कम्पनीको लक्ष्य अनुरुप यी दुई स्थानमा सेवा सञ्चालनमा ल्याइएको हो । नेपाल सरकारको नीति अनुरुप कम्पनीले प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिइरहेको छ ।