विशेष

यी हुन् कांग्रेस नेताहरुको विजय सुनिश्चित भएका निर्वाचन क्षेत्रहरु !

काठमाण्डौ । आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको माहोल ह्वात्तै तातेको छ । राजनीतिक दलका नेता–कार्यकर्ताहरु चुनावी अभियानमा लागिसकेका छन् । यसबेला मुलुकका ठुला दलहरु कांग्रेस, एमाले र माओवादीबीच कडा टक्कर हुने देखिएको छ ।

यसै सन्दर्भमा हामीले योपटक नेपाली कांग्रेसले जित्ने निश्चित भएका क्षेत्रहरु कहाँ–कहाँ छन् र ती क्षेत्रमा एमाले र माओवादीले कसरी टक्कर गरिरहेका छन् ? त्यो विषयमा केन्द्रीत रहेर रिपोर्ट तयार गरेका छौ । यसै सन्दर्भमा नेपाली कांग्रेसका शीर्ष नेताहरु को–कहाँबाट उठ्दैछन् र उनीहरुको अवस्था कस्तो छ ? त्यसलाई हामीले समेट्ने प्रयास गरेका छौ ।

कांग्रेसका शीर्ष नेतामध्ये डा.शेखर कोइराला मोरङ ६ बाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ चुनाव लड्दैछन् । उनले सो क्षेत्रबाट जित्ने सुनिश्चित जस्तै देखिएको छ । सोही जिल्लाको ४ नम्बरबाट महेश आचार्य, २ नम्बरबाट डा.मिनेन्द्र रिजाल, १ नम्बरबाट डिकबहादुर लिम्बु, ३ नम्बरबाट डा.सुनिल शर्मा उठ्दैछन् । यी सबै नेताहरुले मोरङ जित हासिल गर्ने स्थानीय नेता कार्यकर्ताहरु बताउँछन् । मोरङ ५ मा भने संघीय समाजवादीलाई सपोर्ट गर्ने सम्भावना देखिएको छ ।

त्यस्तै, सुनसरी क्षेत्र नम्बर २ बाट राजिव कोइराला, क्षेत्र नम्बर ३ बाट विजयकुमार गच्छदार, क्षेत्र नम्बर ४ बाट ज्ञानेन्द्रबहादुर कार्की चुनाव लड्दैछन् । यी क्षेत्रमा पनि उनीहरुको जित सुनिश्चित देखिएको छ । सो जिल्लाको क्षेत्र नम्बर १ बाट संघीय समाजवादीका अशोक राईसँग तालमेलको सम्भावना देखिएको छ । कांग्रेसले राईलाई सपोर्ट गरेमा उनको पनि जित सुनिश्चित देखिन्छ ।

त्यस्तै, काभ्रेपलाञ्चोक १ नम्बर क्षेत्रमा कांग्रेसकै तीर्थ लामा, २ नम्बरमा मधु आचार्य चुनाव लड्दैछन् । उनीहरुको राम्रो प्रभाव देखिन्छ । यता, काठमाण्डौ १ नम्बर क्षेत्रबाट प्रकाशमानसिंह, ४ नम्बरबाट गगन थापा, ६ नम्बरबाट भीमसेनदास प्रधान, ८ नम्बर क्षेत्रबाट नविन्द्रराज जोशी चुनाव लड्दैछन् । काठमाण्डौका यी क्षेत्र कांग्रेसका प्रभाव रहेका क्षेत्र हुन् ।

काठमाण्डौ क्षेत्र नम्बर २ बाट भने एमालेका बरिष्ठ नेता माधव नेपालको सम्भावना रहेको देखिन्छ । त्यस्तै यो जिल्लाको सात नम्बर क्षेत्रबाट एमाले–माओवादी गठबन्धनले जित्ने सम्भावना रहेको छ । काठमाण्डौ क्षेत्र नम्बर ३ मा ७० सालको निर्वाचनमा एमालेले जितेको थियो भने अहिले पछिल्लो समयमा कांग्रेसकी अम्बिका बस्नेतको सम्भावना नजिक देखिन्छ । काठमाण्डौ ५ मा नरहरि आचार्यको क्षेत्रमा डा.प्रकाशशरण महत र एमालेका महासचिवबीच कडा प्रतिस्पर्धा देखिने सम्भावना छ ।

काठमाण्डौ १० मा २०६४ सालको संविधानसभा निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भारी मतले जित हासिल गरेका थिए भने ०७० सालको निर्वाचनमा उनैले लज्जास्पद हार ब्यहोर्नुपरेको थियो । उनलाई त्यसबेला कांग्रेसका राजन केसीले हराएका थिए । अहिले उनै केसी १० नम्बरमा कांग्रेसको तर्फबाट उम्मेद्वार उठेका छन् ।

उता, डडेल्धुरा–१ मा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवालेनै चुनाव लड्दैछन् । डडेल्धुराको उक्त क्षेत्रमा प्रधानमन्त्री देउवाले अत्याधिक मतले विजयी हासिल गर्ने निश्चित देखिन्छ । त्यस्तै, तनहुँ १ बाट कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यतर्फ प्रत्यक्षतर्फको उम्मेद्वारी दिएका छन् । सो क्षेत्रमा पौडेलले विजयी हासिल गर्ने निश्चित छ ।

कांग्रेसकै शक्तिशाली नेता गोविन्दराज जोशीले बरिष्ठ नेता पौडेलविरुद्ध बागी उम्मेद्वारी दिने घोषणा गरेपनि सरल एवम् शालिन स्वभावका धनी नेता पौडेल त्यहाँका जनताबीच अत्यन्तै लोकप्रिय रहेका छन् । उनले यसभन्दा अघि कुनै पनि निर्वाचनमा हार ब्यहोर्नुपरेको छैन ।

त्यस्तै, नवलपरासी १ बाट वीपी पुत्र एवम् नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाको उम्मेद्वारी परेको छ । उनको सो क्षेत्रमा जित सुनिश्चित भएको स्थानीय नेता–कार्यकर्ताहरु बताउँछन् ।

उता, नुवाकोट १ र २ नम्बर क्षेत्रमा कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिहं केसी र डा.रामशरण महतको जित हुने सुनिश्चितता छ । नुवाकोटमा राप्रपा (राष्ट्रवादी)का प्रभावशाली नेता डा.प्रकाशचन्द्र लोहनीलाई उक्त जिल्लाका जनताले राम्रो माने पनि उक्त पार्टीको सांगठानिक आधार कमजोर भएकोले त्यसको फाइदा नेपाली कांग्रेसलाई पर्ने देखिन्छ । नुवाकोटको राजनीतिक इतिहास हेर्दा वाम एकताले पनि खासै असर पर्ने देखिदैन ।

यता, ललितपुर १ बाट कांग्रेसका युवा नेता तथा अर्थज्यमन्त्री समेत रहेका उदयशमशेर राणाको विजयी सुनिश्चित देखिन्छ । राणा परिवारका भएपनि तरुण दलको राजनीतिबाट आएकाले तल्लो तहसम्म भिज्न सक्ने क्षमता भएका कारण उनलाई ललितपुरका जनताले विजयी गराउनेमा शंका गर्न नसकिने ललितपुरका वामपन्थीहरुले समेत प्रतिक्रिया दिन थालेका छन् ।

ललितपुर २ मा कांग्रेसकै चन्द्र महर्जन, ३ मा मदन अमात्यले २०७० सालको निर्वाचनमा विजयी हासिल गरेपनि बाम एकताले भने प्रभाव पार्न सक्ने देखिन्छ । त्यस्तै, सुदुरपश्चिमको कैलाली क्षेत्र नम्बर ४ बाट कांग्रेस सभापति एवम् प्रधानमन्त्री पत्नी डा. आरजु देउवाले चुनाव लड्दैछिन् । उनको पनि जित सुनिश्चित देखिन्छ । शिक्षा, स्वास्थ्य र समाजसेवाका क्षेत्रमा परिचित श्रीमती देउवाको बारेमा बेला बेलामा विवाद आइरहे पनि सुदुरपश्चिम क्षेत्रमा उनलाई भगवान सरह मान्ने जनताको पनि कमी छैन । कैलालीमा रामजनम चौधरीले पनि निर्वाचन जित्ने निश्चित छ ।

त्यस्तै, ओखलढुंगाबाट कांग्रेसका प्रभावशाली युवा नेता रामहरि खतिवडाले जित्ने सम्भावना देखिन्छ । उक्त क्षेत्रमा वामगठबन्धनबाट एमाले नेता यज्ञरजा सुनवार उठ्ने भएकोले कडा टक्कर हुने देखिन्छ ।
उता, उदयपुरबाट डा. नारायण खड्काले चुनाव जित्ने निश्चित देखिन्छ । कुटनीतिज्ञहरुसँग उठबस भएका खड्काले खानेपानी, सडक लगायतका क्षेत्रमा उल्लेख्य योगदान गरेका छन् ।

कांग्रेसका अर्का प्रभावशाली नेता खुमबहादुर खड्काको गृहजिल्ला दाङमा स्थानीय तहको निर्वाचनमा लज्जास्पद हार व्यहोरेको कांग्रेसले राम्रा उम्मेद्वारलाई टिकट दिए जित सुनिश्चित हुने देखिन्छ ।

त्यस्तै, सिन्धुपाल्चोक १ बाट सञ्चारमन्त्री समेत रहेका मोहनबहादुर बस्नेतको उम्मेद्वारी परेको छ । त्यहाँ वाम गठबन्धनले प्रभाव पारे पनि उनले कडा टक्कर दिन सक्ने आंकलन गर्न सकिन्छ ।

कास्की जिल्लामा उद्योगपति समेत रहेका सुर्यबहादुर केसी शनिबार कांग्रेस प्रवेश गरेका हुनाले उक्त जिल्लामा पनि कांग्रेसको प्रभाव ह्वात्तै बढ्ने सम्भावना देखिन्छ । सो जिल्लामा स्थानीय तहको निर्वाचनमा भने कांग्रेसको साख गुमेको थियो । उता, झापा ३ मा कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौलाको उम्मेद्वारी पहिला समानूपातिकमा पठाएपनि पछिल्लो समयमा प्रत्यक्षमै लड्ने निर्णय भएपछि उनको जित पनि सुनिश्चित जस्तै देखिन्छ ।

त्यस्तै दुईवटा क्षेत्र रहेको सुर्खेतमा पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का र हृदयराम थानीले टिकट पाएका छन् । खड्का आँटिला नेता हुन् भने थानी भलाद्मी कांग्रेसका रुपमा चिनिन्छन् । खड्काले निर्वाचन जित्ने सम्भावन बढेको बताइन्छ । त्यस्तै कांग्रेसका अर्का प्रभावशाली नेता विमलेन्द्र निधि धनुषाबाट निर्वाचन लड्दैछन् ।

उनी पनि विजय हुनेमा आशंका नरहेको स्वकीय सचिव विश्वासविक्रमको दाबी रहेको छ । यद्यपि, संघीय समाजवादी र राजपाको बलियो पक्कड रहेको दुई नम्बर प्रदेशमा कांग्रेसलाई आगामी चुनाव फलामको च्युरा चपाउनु सरह हुने आंकलन गर्न सकिन्छ । एकातिर बाम गठबन्धन र अर्कोतिर मधेसवादी दलहरुको सामना कांग्रेसले कसरी गर्छ, त्यसका आधारमा तराईमा विजयी सुनिश्चित हुने एक कांग्रेसका प्रभावशाली नेता बताउँछन् ।