राजनीति

मतपत्र छपाई अहिलेसम्म सुरु नभएको खुलासा

काठमाण्डौ । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनको मतपत्र छुट्टाछुट्टै वा एउटै छाप्ने भन्नेमा निर्वाचन आयोग अलमलमा परेको छ। सर्वोच्च अदालतको पछिल्लो आदेशले आयोग अलमलमा परेको हो।

प्रमुख आयुक्त अयोधिप्रसाद यादवले मतपत्र छपाई शुक्रबारदेखि सुरु भइसकेको दावी गरेपनि सर्वोच्चको आदेशअनुसार मतपत्र सम्बन्धमा नयाँ निर्णय लिनुपर्ने अबस्था आउनसक्ने भएकाले छाप्न सुरु नगरिएको श्रोतले बताएको छ।

‘नमूना मतपत्र मात्रै छापिएको हो, श्रोतले भन्यो, ‘शुक्रबारदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रत्यक्षतर्फको मतपत्र छाप्ने पूरा तयारी गरिएको हो, तर छाप्न थालिएको छैन। सर्वोच्चको आयोगको नयाँ निर्णयको प्रतिक्षा गरिएको छ।’

आयोगले सर्वोच्चको पछिल्लो आदेशको प्रतिलिपी शनिबार प्राप्त गरेको छ। सर्वोच्चले बुधबार प्रत्यक्ष तर्फ दुबै सभाको मतपत्र अलग अलग छाप्नेबारे भएको काम तथा सुनिश्चितताको प्रगति विवरण तीन दिनभित्र पेस गर्न आयोगलाई आदेश दिएको थियो।

आइतबारको कान्तिपुरमा लेखिएको छ, निर्वाचन आयुक्त सुधिरकुमार शाहले सर्वोच्चको आदेश प्राप्त भए पनि त्यसको अध्ययन र छलफल बाँकी रहेको बताए।