राजनीति

यस्तो छ एघार शीर्ष नेताहरुको निर्वाचन क्षेत्रमा मतको अवस्था !

काठमाण्डौ । आगामी मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको माहोल ह्वात्तै तातेको छ । लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनको नाममा मुलुकका ठुला दलहरु यसबेला ध्रुर्वीकृत भैरहेका छन् ।

नेपाली कांग्रेसले लोकतान्त्रिक गठबन्धनको नेतृत्व गरिरहेको छ भने एमालेले वाम गठबन्धनको नेतृत्व गरिरहेको छ । यसले अन्तत कांग्रेस र एमालेबीचनै कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ । यसैबीचमा मुलुकका शीर्ष नेताहरु उठ्ने निर्वाचन क्षेत्रमा कस्तो र कसरी प्रतिस्पर्धा हुँदैछ ? यो प्रश्नको हल खोज्ने प्रयास हामीले यो पटक गरेका छौ ।

मुलुकका शीर्ष नेताहरु चुनाव लड्ने निर्वाचन क्षेत्रमा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनको मताधार कति रहेको छ । यसलाई हामीले यहाँ तथ्यांकको रुपमै उतारेका छौ । प्रधानमन्त्री शेरबहादुर देउवादेखि एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत चुनाव लड्ने क्षेत्रहरुको आंकलन गर्दा यी दुई गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

यस्तो शीर्ष नेताहरु चुनाव लड्ने मतको स्थिति
प्रधानमन्त्री शेरबहादुर देउवा चुनाव लड्ने डडेल्धुरामा नेपाली कांग्रेसको १९ हजार ५ सय २३ मत रहेको छ भने राप्रपाको करिब एक हजारको हाराहारीमा मत आउन सक्छ । त्यस्तै एमालेको १७ हजारको हाराहारीमा त रहेको छ भने माओवादीको १० हजारको हाराहरीमा मत देखिन्छ । त्यस्तै एमाले अध्यक्ष केपी ओली चुनाव लड्ने झापा–५ मा लोकतान्त्रिक गठबन्धनको ३३ हजार ४ सय ७५ मत रहेको देखिन्छ भने बाम गठबन्धनको ४२ हजार १ सय ४३ मत रहेको छ ।

उता, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनाव लड्ने भनिएको चितवन ३ मा लोकतान्तिक गठबन्धनको ३७ हजारको हाराहारीमा मत रहेको छ भने वाम गठबन्धनको ४२ हजार मत रहेको देखिन्छ । त्यस्तै एमाले नेता माधव नेपालले चुनाव लड्ने काठमाण्डौ २ मा लोकतान्त्रिक गठबन्धनको २० हजार ३ सय ८० मत रहेको देखिन्छ भने वामगठबन्धको २४ हजार मत रहेको छ ।

एमाले नेता झलनाथ खनाल चुनाव लड्ने इलाम १ मा लोकतान्त्रिक गठबन्धनको २५ हजार मत देखिन्छ भने वाम गठबन्धनको ३३ हजारको हाराहारीमा मत देखिन्छ । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईको निर्वाचन क्षेत्र गोरखा २ मा लोकतान्त्रिक गठबन्धनको २४ हजार २ सय ७२ मत रहेको छ भने वाम गठबन्धनको २५ हजार ४सय ३७ रहेको छ ।

त्यस्तै कांग्रेस नेता रामचन्द्र पौडेले चुनाव लड्ने तनहुँ १ मा लोकतान्त्रिक गठबन्धनको २८ हजार ८ सय १२ मत रहेको छ भने वाम गठबन्धनको २९ हजार २ सय ४८ मत रहेको छ । त्यस्तै एमाले नेता वामदेव गौतम उठ्ने बर्दिया १ मा लोकतान्त्रिक गठबन्धनको २६ हजार ७ सय ६३ मत रहेको छ भने वाम गठबन्धनको ५० हजारको हाराहारीमा मत रहेको छ ।

त्यस्तै राप्रपा प्रजातान्त्रिकका पशुपति शमशेर राणा उठ्ने सिन्धुपाल्चोक १ मा लोकतान्त्रिक गठबन्धको ३० हजार मत रहेको छ भने बाम गठबन्धको ३५ हजारको हाराहारीमा मत रहेको छ । नेपाली कांग्रेसका शीर्ष नेता डा.शशांक कोइराला उठ्ने नवलपरासी २ मा लोकतान्त्रिक गठबन्धनको ३७ हजार ३० मत रहेको छ भने वाम गठबन्धनको ३३ हजार मत रहेको छ ।

त्यस्तै राप्रपाका अध्यक्ष कमल थापा उठ्ने मकवानपुर १ मा लोकतान्त्रिक गठबन्धको ३२ हजार १ सय ५० मत रहेको छ भने वाम गठबन्धनको ३८ हजार मत रहेको छ ।

यसकारण कांग्रेसलाई मत बढी झर्न सक्छ
उल्लेखित आंकडामा लोकतान्त्रिक गठबन्धन भनिए पनि ती अधिकांश ठाउँमा कांग्रेसको एकल प्रभावको मत हो भने वाम गठबन्धमा एमाले र माओवादीको संयुक्त मत हो । यो आधारमा हेर्दा धेरै ठाउँमा कांग्रेस एक्लैले एमाले र माओवादीलाई चुनौती दिने देखिन्छ किनभने लोकतान्त्रिक गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेससँग त्यति धेरै प्रभावशाली पार्टीहरु साथमा देखिदैनन् ।

यसरी हेर्दा एमाले र माओवादीका असन्तुष्ट कार्यकर्ताहरुले समेत कांग्रेस उम्मेद्वारलाई मत हाल्ने सम्भावना पनि उत्तिक्कै देखिन्छ । यसले निर्वाचनलाई कडा प्रतिस्पर्धामा उतार्ने जानकारहरु बताउँछन् ।