शिक्षा

प्रश्नपत्र बाहिरिएको घटनाले विद्यार्थी अन्योलमा

कार्तिक । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले दुई साताअघि लिएको एमबीबीएस प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएको घटना छानबिनमा ढिलाइ हुँदा नतिजा पर्खाइमा रहेका साढे आठ हजार विद्यार्थी अन्योलमा छन् ।

त्रिभुवन विश्वविद्यालय र प्रहरीले छुट्टाछुट्टै छानबिन समिति बनाए पनि प्रतिवेदन नआउँदा नयाँ परीक्षा लिने या पुरानैबाट नतिजा सार्वजनिक गर्ने भन्नेमा चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) नै अनिर्णीत छ ।

आईओएमले असोज २८ मा लिएको प्रवेश परीक्षामा डिभाइस प्रयोग गरी चिट चोरी गरेको पाइएपछि प्रहरी र त्रिविले बेग्लाबेग्लै अनुसन्धान गरिरहेकामा बेलैमा प्रतिवेदन नदिँदा विद्यार्थी मारमा परेका हुन् ।

६ सय ४० कोटाका लागि आईओएमले लिएको प्रवेश परीक्षामा ८ हजार ६ सय ६६ सहभागी थिए । प्रश्नपत्र बाहिरिएको सूचना आएलगत्तै प्रहरीले अनुसन्धान अघि बढाएको थियो । त्रिविले पनि लगत्तै छानबिन समिति गठन गरेको थियो ।

नतिजा सार्वजनिक नहुँदा त्यसको असर अन्यत्र पनि परेको छ । काठमाडौं विश्वविद्यालयमा पास भएका विद्यार्थी पनि आईओएमको नतिजा सार्वजनिक भएपछि मात्रै भर्ना हुने योजनामा छन् ।

प्रतिष्ठानहरूमा समेत आईओएमको नतिजाले असर पारेको छ । स्वदेशमा एमबीबीएस अध्ययन महँगो भएकाले सस्तोमा अध्ययन गर्न विदेश जान चाहने विद्यार्थी पनि अन्योलमा छन् ।

विदेशमा एमबीबीएस पढ्न पनि स्वदेशको प्रवेश परीक्षा अनिवार्य पास हुनुपर्ने प्रावधान छ । बेलैमा नतिजा सार्वजनिक नहुँदा शैक्षिक सत्रको समयसमेत धकेलिने अवस्था छ भन्दै शनिबारको कान्तिपुरमा लेखिएको छ ।