कृषि

कैलालीमा रासायनिक मलको हाहाकार

धनगढी । धान बाली भित्र्याएर गहुँ खेतीको तयारीस्वरुप खेत खनजोतमा लागेका कैलाली जिल्लाका किसान रासायनिक मलको अभाव भएपछि चिन्तित छन् ।

सरकारी अनुदानको मल बिक्री वितरणको जिम्मा पाएको कृषि सामग्री कंलि र साल्ट ट्रेडिङ कर्पोरेशन लि धनगढीमा मलको मौज्दात सकिएपछि जिल्लामा मलको अभाव सिर्जना भएको हो ।

मल अभाव हुँदा यस वर्ष गहुँको उत्पादन घट्ने स्थानीयवासी रामदासराम रानाले गुनासो गरे । सहकारी संस्थामार्फत बिक्री हुने अनुदानको मल स्थानीय बजारका एग्रोभेट पसलबाट बिक्री हुने गरेको भए पनि नियमकारी निकाय मौन बसेको गुनासो कृषकको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन धनगढी कार्यालयका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले कार्यालयमा युरिया झण्डै ३०० र पोटास १५ मेटन मौज्दात भए पनि डिएपी मलको मौज्दात सकिएको बताए ।

डिएपीको सट्टा प्रयोग गरिने सिंगल सुपर फस्फोेट (एसएसपी) मलको मौज्दात पनि कार्यालयमा शुक्रबारै सकिएको बताइएको छ । यद्यपि आगामी एक हप्ताभित्र ५०० मेटन डिएपी कार्यालयमा आइपुग्ने खबर आएको पाण्डेले बताए ।

गहुँ छरेकै दिन डिएपी आवश्यक पर्ने भए पनि यो मलको अभाव हुँदा समस्या भएको किसानले बताएका छन् । दुई निकाय कृषि सामग्री र साल्ट ट्रेडिङबीचको अधिकृत बिक्रेता (डिलर)का विषयमा देखिएको विवादले पनि जिल्लामा बेलाबखत मलको अभाव हुने गरेको बताइन्छ ।

विवादकै कारण साल्ट ट्रेडिङले केही महिना मल बिक्री गर्न नपाएकामा विवाद सुल्झिएसँगै गत असोजदेखि पुनः मलको बिक्री वितरण गर्न थालेको छ । यी दुवै निकायले सहकारी संस्थामार्फत अनुदानको रासायनिक मल बिक्रीवितरण गर्दै आएका छन् ।

धान र गहुँको दुई याममा गरिने खेतीका लागि सुदूरपश्चिम ७ नं प्रदेशमा झण्डै १२ हजार मेटन रासायनिक मलको आवश्यकता पर्ने गरेको छ ।