पर्यटन/संस्कृति

पर्यटन क्षेत्रको विकासबाटै मुलुकको आर्थिक समृद्धि हुन्छ: पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पर्यटन क्षेत्रको विकासबाटै मुलुकको आर्थिक समृद्धि हुने बताएका छन् । तनहुँ–काठमाडौँ बौद्धिक लोकतान्त्रिक समाज नेपालले शुक्रबार यहाँ आयोजना गरेको ‘आगामी निर्वाचनमा बुद्धिजीवीको भूमिका विषयक अन्तर संवाद एवम् व्यास परासर एकीकृत पर्यटन विकास गुरुयोजना प्रस्तुति’ कार्यक्रममा वरिष्ठ नेता पौडेलले कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकास भए मात्र मुलुकको विकास हुने बताएका हुन् ।

“स्वास्थ्य, शिक्षा, कृषि, सिँचाइ, पर्यटन, जलविद्युत्, खानेपानी लगायतका विकासका पूर्वाधारको उल्लेख्य विकास काँग्रेसको सरकारका पालामा भएका हुन्,” वरिष्ठ नेता पौडेलले भने । उनले रोजगारीको अभावका कारण दैनिक हजारौँ युवा बाहिरिएको भन्दै आधुनिक कृषिलाई विकास गरी रोजगारीको अवसर सृजना गर्न आवश्यक रहेको विचार व्यक्त गरे ।

नेपाली काँग्रेस केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीले व्यासको भूमि, भानुभक्तको जन्मस्थानका रुपमा रहेको तनहुँलाई मुलुकको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताए ।

अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईले लोकतन्त्रलाई संस्थागत गर्दै मुलुकलाई विकासको बाटोमा लैजान काँग्रेस पार्टीको स्थापना भएको हो भन्दै काँग्रेसले विकासको मुद्दालाई अगाडि बढाउनुपर्ने बताए ।
केन्द्रीय सदस्य प्रदीप पौडेलले तनहुँलाई आर्थिक क्षेत्रमा बलियो बनाउन विकासवादी नेताको खाँचो रहेको बताए । उनले संविधान निर्माणको नेतृत्व गरेको काँग्रेसले आर्थिक क्षेत्रको नेतृत्व गर्नुपर्ने भएकाले योग्य उम्मेदवार छान्न पार्टी नेतृत्वलाई आग्रह गरे ।

कार्यक्रममा समाजका अध्यक्ष यदुनाथ खनाल, निवर्तमान धुव्र वाग्ले, रामचन्द्र पोखरेल, झुलबहादुर आले, काँग्रेस तनहुँका पूर्वसभापति रघुनाथ पौडेल लगायतले गुरुयोजना बनाउँदा तनहुँको समग्र विकास हुने गरी बनाउनुपर्नेमा जोड दिए ।