स्वास्थ्य

स्थानीय तहको निर्णय अभावका कारण औषधी अभाव बढ्दै

काठमाडौं । स्थानीय तहले समयमै निर्णय गर्न नसक्दा मुलुकभरका सरकारी स्वास्थ्य संस्थामा औषधि अभाव हुन थालेको छ। साउनमा केन्द्रबाट औषधि खरिदका लागि अख्तियारी र बजेट पाए पनि नवगठित स्थानीय तहले प्रक्रिया अघि बढाउन नसक्दा औषधि अभाव हुन लागेको हो।गत वर्ष खरिद गरिएको स्टक सकिनु तर नयाँ खरिद नगरिँदा दाङ, अर्घाखाँची, रसुवालगायत जिल्लामा औषधि संकट देखिएको छ।
पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका प्रमुख डा.विष्णुबहादुर बस्नेत केन्द्रदेखि स्थानीय तहसम्म औषधि खरिद र वितरणप्रणाली स्पष्ट नहुँदा ठाउँ ठाउँमा औषधि अभाव हुन थालेको स्विकार्छन्। ‘स्थानीय तहले स्वास्थ्यको संवेदनशीलता बुझ्न सकेनन्, उनीहरूलाई समयमै स्वास्थ्यका कर्मचारीले बुझाउन खोजेनन् र नियमनकारी निकायले त्यसमा चासो पनि दिएनन्, उनी भन्छन्।

मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौंडाका प्रमुख डा.वासुदेव पाण्डेले यो बेला औषधि अभाव चर्किए झन् ठूलो समस्या पर्ने बताए। ‘मौसम परिवर्तनसँगै रुघाखोकीका बिरामी बढेका छन्, ग्रामीण क्षेत्रका अधिकांश मानिस सरकारी स्वास्थ्य संस्थामै उपचार गराउन भीड लाग्छन्। त्यो बेला उनीहरूलाई औषधि दिन सकिएन भने समस्या विकराल हुन्छु, उनी भन्छन्।

औषधि खरिदबारे स्वास्थ्य मन्त्रालयले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसँग समन्वय नगर्दा अभाव सुरु भएको हो। औषधि खरिद र व्यवस्थापन गर्दै आएको स्वास्थ्य मन्त्रालयअन्तर्गतको आपूर्ति व्यवस्था महाशाखाले आगामी आर्थिक वर्षका लागि आवश्यक औषधिको खरिद प्रक्रिया अघि बढाएको छ। शनिबारको अन्नपूर्णमा लेखिएको छ, ती औषधि पनि तोकिएको समयभित्र आउने सम्भावना न्यून छ।