पु.समाचार

नेपालको कामकार्वाही प्रति चीनको असन्तुष्टि

काठमाडौं । चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई) मा नेपाल साझेदार बनेको सात महिना बितेको छ । तर, नेपालले बीआरआईअन्तर्गत चीनलाई सहयोग प्रस्तावका लागि एउटा पनि विकास परियोजना छनोट गर्न सकेको छैन ।

नेपालले बीआरआईअन्तर्गत सहयोग परियोजना प्रस्ताव गर्न नसकेपछि चीनले कूटनीतिक च्यानलबाट असन्तुष्टि पोख्न थालेको एक उच्च सरकारी अधिकारीले बताए ।

नेपालका लागि चिनियाँ राजदूत यु होङ्ले प्रधानमन्त्री तथा अन्य सरकारी अधिकारीसँगका हालैका भेटमा बेल्ट एन्ड रोड अवधारणा कार्यान्वयनका लागि नेपालका तर्फबाट भएका प्रयासबारे निरन्तर चासो राख्न थालेकी छन् ।

चिनियाँ राजदूतले प्रधानमन्त्री शेरबहादुर देउवासँग गरेको भेटमा देउवाले बेल्ट एन्ड रोड अवधारणामा नेपाल सदस्य बनिसकेको र त्यसबाट आर्थिक विकासमा लाभ लिन चाहेको बताएका थिए ।

‘हामी बेल्ट एन्ड रोड अवधारणाको फ्रेमवर्कमा चीनसँग सहकार्य अघि बढाउन चाहन्छौं । प्रधानमन्त्रीले यही कुरा राजदूत युसमक्ष राख्नुभएको हो’ प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा.दिनेश भट्टराईले भने ।

चीनस्थित नेपाली राजदूत लीलामणि पौड्यालसँगको भेटमा पनि चिनियाँ अधिकारीले ‘बेल्ट एन्ड रोडमा अघि बढ्ने नेपालको आफ्नो योजना र रणनीति कहाँ छ ? ’ भन्दै सोध्ने गरेका छन् ।

नेपालले बीआरआईअन्तर्गत चिनियाँ सहयोगका लागि आग्रह गर्न सकिने परियोजना छनोट गर्न देखाएको सुस्तताप्रति चीनले चासो देखाएको हो ।

तीन महिनाअघि नेपाल आएका चिनियाँ उपप्रधानमन्त्री वाङ् याङ्ले बीआरआई अन्तर्गतको सहकार्य अघि बढ्ने आशा उच्चस्तरका भेटमा राखेका थिए ।

बीआरआईअन्तर्गत चिनियाँ लगानीका लागि प्रस्ताव गर्न सकिने परियोजना छनोट गर्न सरकारले दुई उच्चस्तरीय संयन्त्र बनाएर काम अघि बढाएको थियो भन्दै शनिबारको अन्नपूर्णमा समाचार लेखिएको छ ।