राजनीति

नयाँ शक्तिको घोषणापत्र सार्वजनिक

काठमाडौँ । आगामी पाँच वर्षभित्र गरिबीको अन्त्य गर्दै मुलुकलाई विकासशील मुलुकमा स्तरोन्नति गर्ने लक्ष्यसहित नयाँ शक्ति नेपालले आज प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ ।

आगामी १५ वर्षसम्म दिगो विकासका लक्ष्य हासिल गर्दै नेपाली जनताको जीवनस्तरलाई विश्वका मध्यम आय भएको मुलुकको दर्जामा पु¥याउने र बेरोजगारीको अन्त्य गर्ने र २५ वर्षभित्र मुलुकलाई विकासको उन्नत तथा उच्चस्तरमा पु¥याउने सो पार्टीको घोषणापत्रमा उल्लेख छ ।

सो पार्टीले दोहोरो अंकको आर्थिक वृद्धिले मात्रै मुलुकको समग्र राजनीतिक आर्थिक तथा सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण प्रगति हुने दाबी गर्दै त्यसका लागि कृषि, पर्यटन, ऊर्जा, जडीबुटीमा विशेष लगानी गर्नुपर्नेमा जोड दिएको छ ।

नयाँ शक्तिले देशका प्रमुख स्थानलाई केबलकारबाट जोड्ने योजना अगाडि सारेको छ । त्यसमा काठमाडौँदेखि सगरमाथाको आधार शिविरसम्म, दीपायल–खप्तड– रारा, सुर्खेत– जुम्ला, थवाङ–दुनै, पोखरा–जोमसोम, विदुर– केरुङ, उदयपुर–ओखलढुंगा, धनकुटा–खाँदबारीमा केबलकार निर्माण गरिनेछन् ।

यस्तै मुलुकका सातवटै प्रदेशमा एशियाली मापदण्ड र विशेष पहिचानसहितका सुन्दर प्रादेशिक राजधानीको विकास, हरेक प्रदेशमा अन्तरराष्ट्रियस्तरका विश्वविद्यालय, हरेक प्रदेशमा ५०० श्ययाको ठूला अस्पताल निर्माण गर्नेसमेत नयाँ शक्तिको घोषणापत्रमा समेटिएको छ ।

यस्तै नयाँ शक्तिले प्रदेश नं १ देखि ७ सम्म प्रदेशको विशिष्टताका आधारमा योजनासमेत अगाडि सारेको छ । आधुनिक कृषि प्रणालीको विकास, व्यवस्थित पर्यटन उद्योग, सिँचाइ तथा खानेपानीको सुविधा र वैज्ञानिक भूमिसुधारमार्फत परम्परागत भूस्वामित्वमा परिवर्तन, कृषिमा यान्त्रिकरण, आधुनिकीकरण तथा व्यावसायिक बनाउने लक्ष्यसमेत राखिएको छ ।

वाम–लोकतान्त्रिक चरित्रको राजनीतिक कार्यदिशा नै आफूहरुको मूल राजनीतिक सिद्धान्त रहेको भन्दै नयाँ शक्तिले राजनीतिक आन्दोलनको पूर्णतासँगै आर्थिक विकास र समृद्धिको ढोका खुलेको समेत स्पष्ट पारेको छ ।

आज यहाँ आयोजित घोषणापत्र सार्वजनिक समारोहमा सो पार्टीका संयोजक डा बाबुराम भट्टराईले मुलुकको आवश्यकताअनुसार नै घोषणापत्र बनाइएको र त्यसलाई कार्यान्वयन गर्न सकिने बताए ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका डा भट्टराईले समावेशी तथा समानुपातिक सिद्धान्तलाई व्यवहारमा नै कार्यान्वयन गर्दै अग्रगामी आर्थिक विकासका लागि आफ्नो पार्टी क्रियाशील हुने दाबी गरे ।