राजनीति

विराटनगर महानगरवासीका लागि यतिसम्म कष्ट गरे मेयर भीम पराजुलीले !

काठमाण्डौ । यो मुलुकमा सबै नेताहरु धर्म कर्ममा विश्वास गर्ने नहुन सक्छन् । धर्म कर्ममा विश्वास गर्ने भएपनि आफ्नो र आफ्नो सन्तानको सुःख, स्वास्थ्य र दिर्घायुको कामना गर्दै धर्म र संस्कृतिमा लागेको पाइने गरेको छ । तर यो मुलुकमा यस्ता पनि नेता भेटिए, जसले आफ्ना नगरका जनताले जहिल्यै सुःख, शान्ति र सुस्वास्थ्यको कामना गर्दै धर्ममा तल्लिन रहेको पाइयो ।

नेपालको पूर्वी जिल्ला मोरङमा अवस्थित विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले यस्तै एउटा उदाहरणीय कर्म गरेर देखाइदिए बिहीबार । उनले आफ्नो महानगरका जनताको सुःखी, शान्ति र प्रगतिको कामना गर्दै करिब ४ घण्टा लगाएर एउटा कर्म सम्पन्न गरे । छठ पर्वको बेला उनले करिब डेढ किलोमिटरसम्म घर्सिएर अस्ताउँदो सूर्यलाई अर्घ दिए ।

यो पूजाका लागि मेयर पराजुलीले अघिल्लो दिनदेखि पानी समेत खाएका थिएनन् । मेयर पराजुलीको भनाई अनुसार उनले १४ वर्षदेखि यसरी नै उदाउँदो सूर्यलाई अर्घ दिँदै आएका थिए तर एक वर्षअघि सलामी दिएपछि उनको व्रत सकिएको थियो । यसअघिको व्रतमा उनले परिवारको सुःख, शान्ति र समृद्धिको कामना गर्दै घस्रिने गर्दथे भने यो पटक उनले नगरवासीका लागि यो कष्ट उठाएका थिए ।

मेयर पराजुलीले यो वर्ष विराटनगर महानगरपालिकाका जनताको सुःख र समृद्धिका लागि भन्दै यो कठोर तपस्या गरेको बताएका छन् । बिहीबार दिउँसो १ बजे विराटनगरस्थित आफ्नै घरनजिकैको शिव पञ्चायत मन्दिरबाट घस्रिन सुरु गरेका मेयर पराजुलीले साँझ ४ बजे डेढ किलोमिटर दुरी पार गरेर सिंघिया खोलामा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए ।

मेयर पराजुली सडकमा घिस्रिन थालेपछि नगरवासीको समेत भीड लागेको थियो । उनलाई केही युवाहरुले समेत साथ दिएका थिए । छठ पर्वको अवसरमा व्रतालुहरुले आराध्यदेव सूर्यको आराधना गरी बेलुका पोखरी र नदी किनारमा गई अस्ताउँदो सूर्यलाई अर्घ दिने गर्दछन् ।