पु.समाचार

उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ समापन

जनकपुरधाम । आस्थाको महापर्व छठअन्तर्गत व्रतालुले यहाँ शुक्रबार उदाउँदो सूर्यलाई अघ्र्य दिइ पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिइ पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।

व्रतालुहरु यहाँका इतिहासवर्णित सरोवर गंगासागर, धनुषसागर, अरगजालगायतका पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दुर लगाई अक्षता, फूल लिइ आफ्नो खेतबारीमा उत्पादन भएका सामग्री र घरमा बनाइएका विशेष प्रकारको पकवानसहित सूर्यलाई अघ्र्य अर्पण गरेका थिए ।

अर्घमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान्न, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन रहेको छ ।

सूर्यलाई दिइने अर्घमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ ।

छठ पर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो । छठ पर्व महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि संकल्प गरिन्छ, जुन यसको महत्वपूर्ण पक्ष हो ।

अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुखदुःख, रोदन र हाँसोलाई समानरूपमा र जीवनकै पाटोका रूपमा लिइनु हो । धनी, गरिब, कथित तल्ला र माथिल्ला जाति एकै ठाउँमा उपस्थित भई पूजा गर्नुले ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिन्छ ।

आफ्नै गाउँघरका खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यो पर्वको थप मौलिकता विशेषता हो, जो आडम्बरविहीनताको परिचयसँगै श्रमको सम्मानको परिचायक मानिन्छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धनप्राप्ति हुने जनविश्वास छ ।

छठ पर्व मनाउनुका पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्य पनि त्यत्तिकै छन् । वैज्ञानिक र ज्योतिष तथा चिकित्सकले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् ।

ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी व्रतालुले यो पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास पाइन्छ ।

छठका अवसरमा बेहुली झैँ सिँगारिएका पोखरी र तलाउमा नवबस्त्रमा सजिएका श्रद्धालुको भीड पनि दर्शनीय रहेको थियो । —हिमांशु चौधरी